मध्यपूर्वमा तनावबिच एक महिनामा तीन हजार आठ सय २८ अन्तर्राष्ट्रिय उडान

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानको सैन्य तनावबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजार आठ सय २८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ । २३ फेब्रुरीदेखि ७ अप्रिलसम्मका अवधिमा एयर अरेबिया, फ्लाई दुबई, हिमालय एयरलाइन्स, कतार एयरवेज र नेपाल एयरलाइन्सलगायतका वायुसेवाले नेपालबाट अन्तर्राष्ट्रिय उडान गरेका हुन् । फेब्रुअरी २८ देखि मार्च ३ सम्म मध्यपूर्वतर्फका सबै उडान पूर्ण रूपमा रद्द भएका थिए ।  

एयर अरेबियाले उक्त अवधिमा कुल ८१ उडान सञ्चालन गर्दा ११ उडान रद्द गरेको छ । यस अवधिमा २३ हजार पाँच सय ७० यात्रुले सेवा पाएका छन् । जसमा १३ हजार ४० आगमन र १० हजार पाँच सय ३० प्रस्थान गरेका थिए । कार्गोतर्फ आठ हजार ६ सय ४२ भित्रिएको र १७ हजार आठ सय २२ बाहिरिएको छ । मार्च ४ मा सबै उडान रद्द भए पनि त्यसपछि क्रमशः उडान संख्या बढ्दै गएको देखिन्छ । 

मार्च १० देखि १४ सम्म दैनिक उडान सञ्चालन भएका छन् भने मार्च १६ पछि कार्गो ढुवानी पनि उल्लेख्य रूपमा बढेको छ । उदाहरणका लागि मार्च १६ मा अबुधाबी–काठमाडौं–अबुधाबी उडानमा ६ सय ५४ कार्गो भित्रिएको थियो भने मार्च १७ मा शारजाह–काठमाडौं–शारजाह उडानमा ९ सय ९० कार्गो भित्रिएको देखिन्छ ।

अप्रिल ४ मा एउटै दिन दुई फरक उडानमार्फत एक हजार ५ सय २० कार्गो इन र एक हजार ६ सय ५१ कार्गो बाहिरिएको छ । यस अवधिमा फ्लाई दुबईले ६८ उडान सञ्चालन गर्दा ३५ उडान रद्द गरेको छ । कुल १९ हजार ९ सय ८९ यात्रुले सेवा पाएका छन् । जसमा १० हजार २१ आगमन र नौ हजार नौ सय ६८ प्रस्थान छन् । कार्गोतर्फ नौ हजार दुई सय ५९ इन र १२ हजार एक सय २२ बाहिरिएको छ ।

मार्च ७ र ९ मा सबै उडान रद्द भएका थिए भने मार्च १६ मा ड्युटी आवरसम्बन्धी कारणले एक उडान प्रभावित भएको उल्लेख छ । हिमालय एयरलाइन्सले ४३ उडान सञ्चालन गर्दा ३२ उडान रद्द गरेको छ । यस अवधिमा सात हजार चार सय ६७ यात्रु आवागमन भएको छ । यसमा तीन हजार सात सय ८४ आगमन र तीन हजार ६ सय ८३ प्रस्थान छन् । कार्गोतर्फ आठ सय पाँच इन र एक हजार ६ सय ७९ बाहिरिएको छ । मार्च ४ देखि ७ सम्म सबै उडान रद्द भएका थिए भने मार्च ८ पछि आंशिक रूपमा उडान सुरु भए पनि दोहा र दमाम सेक्टरमा निरन्तर रद्द देखिएको छ । 

कतार एयरवेजले ६८ उडान सञ्चालन गर्दा ४८ उडान रद्द गरेको छ । यस अवधिमा २१ हजार पाँच सय ३४ यात्रु आवागमन भएको छ । जसमा ११ हजार चार सय ३९ आगमन र १० हजार ९५ प्रस्थान छन् । कार्गोतर्फ २९ हजार तीन सय ९८ इन र दुई लाख चार हजार ६१ बाहिरिएको छ । मार्च ४ देखि १५ सम्म प्रायः सबै उडान रद्द भएका थिए । मार्च १६ पछि उडान सुरु भएसँगै यात्रु र कार्गो दुवैमा तीव्र वृद्धि देखिएको छ । विशेषगरी मार्च १७ मा नौ हजार आठ सय ८१ कार्गो आउट, मार्च २३ मा १२ हजार चार सय ९३ कार्गो आउट र अप्रिल १ मा ११ हजार ८४ कार्गो बाहिरिएको देखिन्छ ।

नेपाल एयरलाइन्सले ४६ उडान सञ्चालन गरेको छ र कुनै पनि उडान रद्द भएको छैन । यस अवधिमा दुई हजार तीन सय ४३ यात्रु आवागमन भएको छ, जसमा एक हजार दुई सय ८६ आगमन र एक हजार ५७ प्रस्थान छन् । कार्गोतर्फ पाँच हजार दुई सय ६३ इन र १५ हजार आठ सय ५२ बाहिरिएको छ । मार्च २५ देखि २८ बिच यात्रु संख्या उल्लेख्य रहेको छ । अप्रिल ३ मा काठमाडौं–दुबई उडानमार्फत सात हजार एक सय ९३ कार्गो बाहिरिएको छ । यस अवधिमा अप्रिल ५ मा जजिरा एयरवेजले चार्टर उडान सञ्चालन गर्दै दुई सय ४४ यात्रु र आठ सय ७० कार्गो इन ढुवानी गरेको छ । 

सुझावित समाचार