मृतकका बुबा भन्छन्– युवतीको संलग्नताको आशंका छ, कल डिटेल्स हेरेर अनुसन्धान होस्

सम्साँझै सयौँको भिडभाडमा चक्कु हानेर दाजुभाइको हत्या

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

सयौँ मानिसको भिडभाडमै ललितपुर मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा सोमबार सम्साँझै चक्कु प्रहार गरेर दुई दाजुभाइको बीभत्स हत्या भयो । घटनाको विस्तृत अनुसन्धानमै रहेको प्रहरी झुक्किएर अपरिचित नम्बरमा फोन जाँदा निम्तिएको विवादले हत्याको रूप लिएको प्रारम्भिक निचोडमा छ । तर, मृतकका बुबाले घटनाको केही घण्टाअघि कुनै केटीसँग छोराको फोन संवाद सुनेको भन्दै कल डिटेल्स हेरेर गम्भीर अनुसन्धान गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मारिएका युवा झापा कमल गाउँपालिका– ४ का ३३ वर्षीय सुमित नेम्वाङ र उनका सहोदर भाइ २५ वर्षीय सिर्जन हुन् । ललितपुर महानगरपालिका– ९, भोलढोकाका ३२ वर्षीय सज्जु भनिने सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट नगरपालिका– १ का २२ वर्षीय गगन सुनारले उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ललितपुरकै इमाडोल बस्ने सुमितले कसैलाई फोन गर्दा झुक्किएर सञ्जीवको नम्बरमा फोन गएको थियो । तर, फोनमै विवाद भएर गालीगलौजमा उत्रिएपछि सञ्जीवले सुमितलाई मिलापत्रका लागि कृष्णमन्दिर आउन भनेका थिए । सुमित भाइ सिर्जनलाई लिएर कृष्ण मन्दिर पुगे भने सञ्जीव पनि गगनलाई लिएर आए । त्यहाँ पुग्नेबित्तिकै सञ्जीवले केही समयअघि आएको नम्बरमा कल ब्याक गरे । 

मन्दिरको माथिल्लो सिँढीमा बसिरहेका सुमितले फोन उठाएर हात हल्लाउँदै आफूलाई देखाए । सञ्जीव फोन काटेर सरासर सुमित भएको ठाउँमा पुगेर भनाभनमा उत्रिए । सोही क्रममा सञ्जीवले चक्कु निकालेर सुमितमाथि प्रहार गरेको सार्वजनिक भिडियोहरूमै देखिन्छ । रोक्न खोज्दा सिर्जनमाथि पनि आक्रमण गरेका थिए । सञ्जीवलाई गगनले साथ दिएका थिए । उक्त दृश्य हेरिरहेको भिडले झगडा छुट्याउने हिम्मत गरेन, प्रहरीलाई भने खबर गरेको थियो । गम्भीर घाइते भएका सुमित र सिर्जनको बेलुका ८ः३० बजे ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा मृत्यु भएको थियो ।

क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सञ्जीव र गगनले सुमित र सिर्जनमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी हेमन्त भण्डारीले बताए । ‘सुमितको मोबाइलबाट झुक्किएर सञ्जीवको नम्बरमा फोन गएकै आधारमा विवाद बढेपछि हत्याको रूप लिएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा चक्कु प्रहारबाट हत्या भएको छ,’ उनले भने, ‘हत्यामा संलग्न दुवै युवा पक्राउ परेका छन्, चक्कु पनि बरामद गरिएको छ । थप अनुसन्धान भइरहेकाले बाँकी तथ्य खुल्दै जाला ।’ 

मृतकहरूको घाँटी र पेटमा छुरा प्रहार हुँदा अत्यधिक रक्तस्राव भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उनीहरूलाई अस्पताल लगेको थियो । सञ्जीव र गगनलाई भने भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार हत्यामा संलग्न सञ्जीव यसअघि पनि झैझडामा संलग्न भएको खुलेको छ । 

See More On

सुझावित समाचार