कञ्चनपुर कारागारमा तीन महिनामा तीन झडप, ३० कैदीबन्दी अन्यत्र सरुवा

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

तीन महिनाको अवधिमा कञ्चनपुर कारागारमा तीनपटक झडप भयो। कारागार व्यवस्थापन कार्यालयले तीनैपटक विवाद तथा तोडफोडमा संलग्नलाई कारबाही गरेको छ। गत ४ पुस, ८ चैत्र र २५ चैत्रमा तीनपटक कारागारमा झडप भएको थियो।

लागुऔषध मुद्दामा सफाइ पाएकै भोलिपल्ट एक कैदीबन्दीलाई कारागारको सिसिटिभी तोडफोडमा पुनः कारबाही गरिएको छ भने पटक-पटक गरेर ३० कैदीबन्दी अन्यन्त्र सरुवा गरिएको हो। कञ्चनपुर कारागार प्रमुख हेमन्ती साउदले तोडफोडमा एक पूर्वकैदीबन्दी पनि संलग्न रहेको र उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेकाले परिचय खुलाउन नसकिने बताइन्।

कारागार प्रमुख साउदका अनुसार तीनैपटक हुलहुज्जल गर्नेहरूलाई पहाडी जिल्ला दार्चुला, तराईको बाँकेदेखि काठमाडौं स्थानान्तरण (ट्रान्सफर) गरिएको छ। उनले बिहीबार कैदीबन्दीहरूलाई सम्झाइबुझाइ गरेको बताइन्।

गत ४ पुसमा कैदीबन्दीले राज्यबाट पाउने सेवा सुविधामा घोटाला भएको भन्दै आन्दोलन गरेका थिए। विवाद झडपमा परिणत भएपछि ८ कैदीबन्दी घाइते भएका थिए। सो घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति बनाइयो। तर, समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

पुस पहिलो साता भएको घटना सेलाउन नपाउँदै ८ चैत्रमा अर्को झडप भयो। दुई समूहबिच भएको झडपमा दुई कैदीबन्दी घाइते भए। केही कैदीबन्दीले कारागारभित्रै लागुऔषधलगायतका गैरकानुनी गतिविधि हुने गरेको बताएका थिए।

चैत्र महिना नसकिँदै १८ दिनमै फेरि झडप भएको छ। २५चैत्रमा दुई समूहबिच भएको विवाद झडपमा परिणत हुँदा पाँच कैदीबन्दी घाइते भए। कारागार स्रोतका अनुसार लागुऔषध र अन्य मुद्दाका कैदीबन्दीहरूबिच कारागारभित्र कारोबारको विषयमा विवाद उत्पन्न हुँदा झडप भएको हो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कारागारमा उत्पन्न समस्या समाधान भएको र अब दीर्घकालीन समस्या समाधान गरिने बताए।

सुझावित समाचार