कुल दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध रहेका छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म एक लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य बिमा गरेका छन् । जसमा कुल ४६ हजार ४५४ घरपरिवार आबद्ध रहेको बिमा बोर्ड सम्पर्क कार्यालय बागलुङका संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए ।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष बिमा गर्नेको संख्यामा भने नाै प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४९ प्रतिशत बिमित थिए भने यस वर्ष ५८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाखसम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले स्वास्थ्य बिमा गराउनेको संख्या बढिरहेको छ, वर्षमा एकपटक प्रिमियम तिरेपछि सूचीकृत भएका अस्पतालहरूबाट वर्षभरि उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेल बताउँछन् ।
३० प्रतिशतले नविकरण गर्दैन
स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या बढ्दै गए तापनि नवीकरण नगर्ने पनि त्यत्तिकै रहेका छन् । जिल्लाको कुल बिमित सदस्यमध्ये ३० प्रतिशतले भने नवीकरण गर्दैनन् । ‘हरेक वर्ष झन्डै ३० प्रतिशत नागरिकले नवीकरण गर्दैनन्,’ पौडेलले भने, ‘स्वास्थ्य संस्थाले दिने सेवाप्रति नागरिक सन्तुष्ट छैनन्, केही प्रक्रिया झन्झटिलाे मान्दै आएका छन्, अस्पतालबाट सेवा लिएपश्चात् तोकिएका औषधि पनि समयमा नपाउँदा बिमित भएका सबै सदस्यले नवीकरण गर्दैनन् ।’
तोकिएका औषधि नपाएको बिमितको गुनासो
स्वास्थ्य बिमा गरे पनि तोकिएका औषधि नपाएको बिमितको गुनासो रहेको छ । सरकारले एक हजार २८८ प्रकारका औषधि बिमाबापत पाउने भने पनि अस्पतालको फार्मेसीमा औषधि नभएपछि नवीकरणका निम्ति चासो नहुने बिमित सदस्य लक्ष्मी शर्मा बताउँछिन् । ‘हामीले नियमित खानुपर्ने औषधि बिमाबाट नै पाउने सुविधा छ, तर अस्पतालमा समयमा नै खरिद नहुँदा त्यो औषधि किन्नुपर्ने बाध्यता हुन्छ,’ शर्माले भनिन्, ‘बिमा गर्दा अन्य सुविधा त सहज छ, तर औषधि नपाउँदा किन गरिएछ जस्तो हुन्छ ।’ पछिल्लो समयमा बिमा बोर्डले केही सर्तहरू परिवर्तन गरेपश्चात् नवीकरण गर्ने पनि घट्दै गएका छन् ।
यसअघि तीन हजार पाँच सय रुपैयाँको बिमा शुल्क तिरेपश्चात् पाँचजनाको परिवारले एक लाख रुपैयाँबराबरको सेवा सहजै प्राप्त गर्थ्याे भने हाल बहिरङ सेवामा २५ हजार सीमा तोकिएको छ । बाँकी इमर्जेन्सी र भर्नाबापत खर्च गर्न पाइने प्रावधान बनाइएको छ । साथै अन्य आठ प्रकारका कडा रोगका लागि थप एक लाख रुपैयाँको व्यवस्था गरिएको छ । बिमा बोर्डले सेवा लिएपछि बिमितको मोबाइलमा म्यासेज आउने व्यवस्थासमेत गरेको छ ।
७० प्रतिशत बिरामी बिमाबाट बिमित
स्वास्थ्य बिमा सञ्चालन भएसँगै जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा भने झन्डै ७० प्रतिशत नागरिकले बिमामार्फत नै उपचार गर्दै आएका छन् । दैनिक झन्डै चार सयदेखि पाँच सय बिरामी अस्पतालमा उपचार गर्न आउँछन्, तीमध्ये ७० प्रतिशत बिमित सदस्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रवीण घिमिरेले जानकारी दिए ।
स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु धौलागिरि अस्पताल बागलुङ, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ अस्पतालबाट उपलब्ध छ। अहिले बडिगाड आधारभूत अस्पतालमा समेत प्रथम सेवा विन्दु उपलब्ध भएको बोर्डका बागलुङका संयोजक पौडेलले जानकारी दिए ।
१० औँ स्थापना दिवस मनाइयो
मंगलबार स्वास्थ्य बिमाको १०औँ स्थापना दिवसको अवसरमा धौलागिरि अस्पतालमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले स्वास्थ्य बिमा कार्यक्रमले सबै वर्गको उपचारमा सहज भएको बताए । उनले पछिल्लो समय बिमा बोर्डले गरेका केही निर्णयप्रति नागरिकको असन्तुष्टि देखिए तापनि बुझेको नागरिकले यसलाई नियमितता दिएको बताए । उनले बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नगरभित्रका दलित, अल्पसंख्यक र विपिन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय बागलुङका नारायणप्रसाद पौडेलले समग्र जिल्लाको स्थितिबारे जानकारी गराएका थिए ।