इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन भएको आरोप लगाएको छ। उसले विशेषगरी लेबनानमा इजरायलद्वारा जारी आक्रमणलाई यस उल्लंघनको उदाहरणका रूपमा उल्लेख गरेको छ।
इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले जारी गरेको विज्ञप्तिमा १०बुँदे प्रस्तावका तीन सर्त तोडिएको दाबी गरिएको छ। उनले अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोड्ने प्रवृत्ति दोहोर्याएको आरोप लगाउँदै यस्तो व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपतिले इरानको १०बुँदे प्रस्तावलाई वार्ताको आधार मान्ने बताएका थिए। तर, गालिबाफका अनुसार उक्त प्रस्तावका तीन अंश पहिले नै उल्लंघन भइसकेका छन्।
इरानले लेबनानमा युद्धविराम लागू गर्ने सर्त पनि पालना नभएको जनाएको छ। मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले समेत लेबनानसहित अन्य क्षेत्रमा तुरुन्त युद्धविराम लागू गर्नुपर्ने बताएका थिए।
गालिबाफले वार्ताका लागि तय गरिएको प्रस्ताव नै छलफल सुरु हुनुअघि उल्लंघन भएको अवस्थामा दुईपक्षीय युद्धविराम वा वार्ताको कुनै अर्थ नरहेको उल्लेख गरेका छन्।