नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा वैचारिक स्पष्टता नै सबैभन्दा ठुलो शक्ति भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार व्यक्त गर्दै उनले एमालेको गौरवशाली इतिहास, संघर्ष र मौलिक सिद्धान्त अझै पार्टीको बलको आधार रहेको उल्लेख गरे।
पाण्डेले ‘माओवादी जनयुद्ध’को व्याख्या एमालेको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै पार्टीको मूल मार्ग ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै भएको बताए। उनले जबजले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई परिवर्तनको आधार मान्ने बताए।
नेता पाण्डेले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूको बुझाइ फरक हुन सक्ने भए पनि एमालेको झन्डामुनि एकीकृत भएपछि पार्टीको आधिकारिक दस्ताबेजअनुसार मात्र बोलिनुपर्ने धारणा राखे।
पाण्डेले अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई अघि बढाउनुकाे सट्टा पछाडि धकेल्ने भएकाले वर्तमान आवश्यकता विगतका द्वन्द्वकालीन अभ्यासको प्रशंसा गर्नु होइन, शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत आर्थिक रूपान्तरणमा केन्द्रित हुनु रहेको बताए। उनले एमालेलाई मौलिक र सुदृढ रूपमा अघि बढाउन वैचारिक धरातल कहिल्यै नबिर्सन पार्टीका कार्यकर्तालाई आग्रह गरे।