सुदूरपश्चिम, मध्यपश्चिम र त्रिभुवन विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ। बुधबार एक कार्यक्रमबिच सुदूरपश्चिमको हलमा त्रिपक्षीय सम्झौता भएको सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत नवीन बमले बताए।
उनका अनुसार तीनै विश्विद्यालयबिच विश्वविद्यालयको विद्यमान उच्च प्राज्ञिक जनशक्ति अभावलाई डिजिटल माध्यमबाट दक्ष शैक्षिक जनशक्ति व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने, शिक्षक, विद्यार्थीको अध्ययन अनुसन्धानमा सहजता ल्याउने विषयमा हस्ताक्षर गरिएको हो।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा सुदूरपश्चिमका उपकुलपति प्राडा हेमराज पन्त, मध्यपश्चिमका उपकुलपति प्राडा धुव्रकुमार गौतम र त्रिविका उपकुलपति प्राडा दीपक आचार्यले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार प्राडा विनोद लेखकले तीनै विश्वविद्यालयबिच भएको उच्च शिक्षा सुधार कार्यक्रमबाट विद्यार्थी, प्राध्यापक, कर्मचारीदेखि नेपालकै उच्च शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।