कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप, पाँचजना घाइते

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

कञ्चनपुर कारागारमा कैदीबन्दीबिच फेरि झडप भएको छ। सेवा–सुविधादेखि आपसी विवादसम्मका विषयले यहाँ पछिल्ला केही महिनायता निरन्तर झडपहरू भइरहेका छन्। गत ४ पुसमा कैदीबन्दीले राज्यबाट पाउने सेवा–सुविधा माग गर्दै आन्दोलन गरेका थिए। जसक्रममा आठ कैदीबन्दी घाइते भएका थिए। कारागारभित्र झडप गरेको भन्दै १३ कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरिएको थियो।

उक्त घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा समिति बनाइए पनि समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन। उतिवेलादेखि नै कैदीबन्दीहरूले राज्यले दिने सेवा सुविधामा कर्मचारीले घोटाला गरेको आरोप लगाएका थिए।

पुस पहिलो साता भएको घटना सेलाउन नपाउँदै ८ चैत ०८२ मा पुनः दुई समूहबिच झडप हुँदा दुई कैदीबन्दी घाइते भए। कैदीबन्दीले कारागारभित्र लागुऔषधलगायतका गैरकानुनी गतिविधिसमेत हुने गरेको खुलासा गरेका थिए। सो झडपपछि १८ कैदीबन्दीको अन्यन्त्र सरुवाको माग अघि सारिएको थियो।

त्यसको १८ दिनमै फेरि झडप भएको हो। बुधबार दुई समूहबिच भएको विवाद झडपमा परिणत हुँदा पाँच कैदीबन्दी घाइते भएका छन्। कारागार स्रोतका अनुसार लागुऔषध र अन्य मुद्दावाला कैदीबन्दीहरूबिच कारागारभित्र कारोबारको विषयमा भएको विवाद झडपमा परिणत हुँदा पाँच कैदीबन्दी घाइते भएका हुन्।

घाइते हुनेमा राजु दमाईं, भुवन नाथ, आयुष बम, भुवन ऐर, प्रकाश घडेरी रहेका छन्। उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुर कारागार प्रमुख हेमन्त साउदले दुई समूहबिच आपसी वादविवादले कुटपिट भएको बताए। घटनाको मूल कारण नखुले पनि लागुऔषध मुद्दा र अन्य मुद्दा खेपिरहेका कैदीबन्दीबिच आपसी असमझदारीले विवाद उत्पन्न भएको बताइएको छ। कारागार प्रमुख साउदले घाइतेहरू अस्पतालबाट फर्किएपछि घटनाको यथेष्ट कारण  पहिचान गरेर समाधानका लागि पहल गरिने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले दुई समूहबिचको आपसी विवादले घटना घटेको बताए। प्रजिअ कोइरालाले कारागारभित्र झैझगडा गर्नेहरूलाई अन्यत्र सारिने बताए। यसअघि कारागारमा टेकराज जोशी (अनन्त) मुख्य नाइके थिए।

सुझावित समाचार