विवादमा तानिएपछि कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्। ६५ वर्ष उमेर हद नाघेपछि सचिवमा रहेको, श्रीमतीलाई निजी सचिव नियुक्त गरेको, दोहोरो सुविधा लिएको आरोपपछि बुढाथोकीले पदबाट राजीनामा दिएका हुन्।
बुढाथोकीले प्रदेश प्रमुखको कार्यालयमा राजीनामापत्र बुझाएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पदमलाल लामिछानेले बताए। बुढाथोकीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए।
सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी परेका थिए। त्यस्तै, निजी सचिवमा श्रीमती नियुक्त गरी तलब लिएको विषय सार्वजनिक भएपछि विवाद झन् बढेको थियो।