कैलालीको लम्कीचुहा नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीबिचको विवाद चर्किएको छ । नगर प्रमुखले विरोध जनाएपछि मंगलबार तय भएको प्रादेशिक अस्पतालको अनावरण रोकिएको छ ।
मुख्यमन्त्री शाहले मंगलबार बिहान ११ बजे नगर अस्पतालमा प्रादेशिक अस्पतालको बोर्ड राखेर अनावरण गर्ने कार्यक्रम तय भएको थियो । त्यसको विरोधमा नगरपालिकाले बिहानैबाट अस्पताल परिसरमा डोजर, ट्र्याक्टर र दमकल तेर्स्याएर राखेको थियो । पालिकासँग सम्झौताविनै प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउन खोजेको भन्दै अनावरण रोक्न नगर प्रमुख शाही आफै अस्पताल पुगिन् ।
नगर प्रमुखले विरोध जनाएपछि मुख्यमन्त्री शाह अनावरण गर्न गएनन् र कार्यक्रम रोकियो । अनावरण कार्यक्रममा मुख्यमन्त्रीसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का पनि त्यहाँ जाने तय भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेशले लम्कीचुहा अस्पतालमा हालै गठन गरेको व्यवस्थापन समितिले अनावरणका लागि मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई बोलाएको थियो । विरोधका कारण जान उचित नदेखिएपछि मुख्यमन्त्री रोकिएको उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले बताए ।
नगरपालिकाले सञ्चालन गरिरहेको लम्कीचुहा अस्पताललाई सुदूरपश्चिम सरकारले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । सुरुमा अस्पताल स्तरोन्नतिको प्रक्रियाका काम नगरपालिकाको सहमतिमै भएका थिए । तर, प्रादेशिक अस्पतालमा स्तरोन्नतिको निर्णय, जनशक्तिको संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम) समेत भएर अस्पताल प्रदेशलाई हस्तान्तरणको अन्तिम प्रक्रियामा विवाद देखिएको हो ।
औपचारिक सम्झौताविनै प्रदेशले अस्पताल कब्जा गर्न खोजेको नगर प्रमुख शाहीको आरोप छ । कार्यरत कर्मचारीको व्यवस्थापन, अस्पतालको व्ययभारजस्ता विषयमा सहमति नभइसकेको अवस्थामा प्रदेशले एकलौटी गर्न खोजेको उनले बताएकी छिन् ।
मुख्यमन्त्री र मेयरबिचको टकरावले अस्पताल स्तरोन्नति अन्योलमा परेको छ । यसले अस्पतालको सेवा असर पर्न सक्ने स्थानीयको चिन्ता छ । नगरपालिकाले गत वर्ष लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउन निर्णय गरेर पठाएपछि प्रदेशले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको थियो । संघीय सरकारको समेत स्वीकृतिपछि प्रदेशले ओएनएम गरेर प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा भएर हस्तान्तरणका वेला विवाद देखिएको हो ।