सयभन्दा बढी बालबालिकाको मृत्युपछि बंगलादेशमा दादुरा खोप अभियान

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

बंगलादेश अहिले वर्षौंयताको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुधिरहेको छ । खोप नलगाइएका शिशुमा दादुरा देखिएर मर्नेको संख्या बढ्दै गएर १०० नाघेपछि सरकार पनि चिन्तित बनेको छ । मार्चदेखि ९०० भन्दा बढी बालबालिकामा दादुरा पुष्टि भएपछि सरकारले संयुक्त राष्ट्र संघसँगको साहकार्यमा देशभरका बालबालिकाका लागि आपत्कालीन दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।

विगतमा दादुराविरुद्धको व्यापक खोप अभियानका कारण रोग नियन्त्रणमा ठुलो उपलब्धि हासिल भए पनि खोपदरमा आएको गिरावटका कारण हालै पुनरुत्थान देखिएको सरकारले बताएको छ । बंगलादेशमा दादुराका लागि बाल खोप कार्यक्रम लागू छ । नवनिर्वाचित सरकारले देशमा देखिएको राजनीतिक अस्थिरताका कारण खोप कार्यक्रम प्रभावित हुँदा अहिले प्रकोप देखिएको बताएको छ । 

संयुक्त राष्ट्र संघका अनुसार रोग फैलिनबाट रोक्न ९५ प्रतिशत जनसंख्यालाई खोप लगाउनु आवश्यक हुन्छ । अब सुरु हुने आपत्कालीन अभियान पहिले उच्च जोखिम भएका जिल्लामा केन्द्रित गरिनेछ । त्यस भेगका ६ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकामा अभियान केन्द्रित हुनेछ, त्यसपछि देशभर विस्तार गरिनेछ ।

हाल बंगलादेशमा दादुराबाट प्रभावितमध्ये एकतिहाइ नौ महिनाभन्दा कम उमेरका बालबालिका छन् । बंगलादेशका नवनियुक्त स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले पछिल्लो प्रकोपबारे उठेको प्रश्नको जवाफ दिन सोमबार संसदमा उपस्थिति भए । उनका अनुसार सन् २०२४ मा विद्रोहबाट तत्कालीन प्रधानमन्त्री सेख हसिना अपदस्थ भएपछिको दुई वर्षको अवधिमा राजनीतिक अस्थिरताका कारण खोप खरिदमा अवरोध पुगेको र यसले दादुरा खोप अभियान सञ्चालनमा असर परेको बताए ।

सुझावित समाचार