कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण
  • नेता चयन गर्ने समिति दलको विधान अध्ययन गर्दै, दाबेदारलाई उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको आश्वासन दिएर मनाउने प्रयास

आकांक्षीबिच समझदारी नबन्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको नेता चयन विलम्ब भएको छ । आगामी सातासम्म सकेसम्म सर्वसम्मत दलको नेता चयन गर्ने गृहकार्यमा जुटेको कांग्रेसभित्र दाबेदारहरूलाई उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको आश्वासन दिएर मनाउने प्रयास भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य हुने प्रावधानका कारण यो पदको महत्व छ ।

संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद बनेका हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ ।

कांग्रेसले भने दलको नेता चयन सहज बनाउन समिति गठन गरेको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको समितिले दलको विधान अध्ययन र आंकाक्षीसँग संवाद थालेको छ । सभापति गगन थापाले रसाइलीको नेतृत्वमा राजु कटुवाल र मुना भुसाल सदस्य रहेको समिति गठन गर्दै सहमतिका लागि प्रयास गर्न ‘म्यान्डेड’ दिएका थिए ।

कांग्रेस नेता केसीले ज्येष्ठ सदस्यको हैसियतमा आइतबारसम्म संसद् सञ्चालन गर्नुपरेका कारण संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्न नसकेको, तर अब प्रक्रिया अघि बढ्ने पार्टी सहमहामन्त्री रसाइलीले बताए । उनले पार्टीको मधेश प्रदेशमा २५ चैतका कार्यक्रम सम्पन्न भइसकेपछि नेता चयनका लागि छलफल सुरु गर्ने बताए ।

संसदीय दलको विधान अध्ययनको क्रममा रहेको र यो हप्ताभित्र नेता चयन हुने उनले बताए । ‘हामी संसदीय दलको विधान अध्ययन गर्दै छौँ, यो हप्ताभित्र दलको नेता चयन हुन्छ,’ रसाइलीले नयाँ पत्रिकासँग भने, ‘सहमतिमै दलको नेता चयन होस् भन्ने हाम्रो चाहना छ । सहमति जुट्न नसके प्रक्रियाबाट भए पनि टुंग्याउनुपर्छ ।’ 

संस्थापन पक्षले केसीलाई संसदीय दलको नेता बनाउन चाहेको छ । तर, सहमति नभए युवापुस्ताबाट नेता चयन हुन सक्ने संस्थापन पक्षीय एक नेताले बताए । शेरबहादुर देउवा पक्षको शक्ति र छनोटको समेत मूल्यांकन भइरहेको ती नेताको भनाइ छ । ‘विगतमा देउवा समूहमा रहेका भनिएका सांसदहरू बदलिनुभएको छ । कतिपय त तटस्थ हुनुहुन्छ । सबैको मनोविज्ञान बुझेर, सबैसँग व्यक्तिगत सरसल्लाह गरेर त्यसआधारमा सहमतिका लागि अघि बढौँ भन्ने छ,’ सभापति थापानिकट एक नेताले भने ।

प्रवक्ता देवराज चालिसेले सहमहामन्त्री स्नेहीको नेतृत्वमा गठित समितिले सहमतिका आधारमा संसदीय दलको नेता चयनका लागि पहल गर्ने बताए । ‘कांग्रेसले यथाशीघ्र संसदीय दलको नेता चयन गर्नेछ । बृहत् पार्टी एकतालगायतका विषय ध्यानमा राख्दै सर्वसम्मत रूपमा संसदीय नेता चयन गर्ने प्रयास हुनेछ,’ प्रवक्ता चालिसेले भने ।

संसद्मा राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये रास्वपा, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन् । २१ फागुनको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कांग्रेसले जम्मा ३८ सिट जितेको छ । यद्यपि, दोस्रो ठुलो दलको हैसियतमा कांग्रेस संसद्को प्रमुख प्रतिपक्ष दल हो । 

कांग्रेस संसदीय दलको विधानमा नेता चयनसम्बन्धी दफा ५ को उपदफा (१) र (२) मा व्यवस्था छ । उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ । ०६४ को पहिलो संविधानसभादेखि कांग्रेसमा दलको नेता सर्वसम्मत रूपमा नभएर निर्वाचनबाट चयन हुँदै आएका छन् । 
 

सुझावित समाचार