नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत मधेश प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। व्यवसायीबिच सहमतिको आधारमा नेतृत्व चयन हुनुलाई संस्थागत एकता र स्थायित्वको संकेतका रूपमा हेरिएको छ।
महासंघ प्रदेश समितिको सातौँ सभाबाट अध्यक्षमा विजयकुमार साह निर्विरोध निर्वाचित भएका छन्। महासंघको केन्द्रीय समितिमा केन्द्रीय सदस्यसमेत भएका उनले मधेश प्रदेशका व्यवसायीहरूको साझा आवाजलाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा (जिल्ला–नगर)तर्फ राजकुमार साह र एसोसिएटतर्फ सञ्जयकुमार अग्रवाल चयन भए। त्यसैगरी कोषाध्यक्षमा रवीन्द्रनाथ गोपाली निर्विरोध निर्वाचित भए।
कार्यकारिणी सदस्यतर्फ जिल्ला–नगर प्रतिनिधित्व गर्दै विनाेदकुमार साह र सूर्यनारायण यादव चयन भएका छन् भने एसोसिएट सदस्यतर्फ नवीनकुमार साह निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत अधिवक्ता सुदीप कोइरालाले जानकारी दिए।
यसअघि मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी अशोक टेवानीले सम्हाल्दै आएका थिए। नयाँ नेतृत्व चयनसँगै मधेश प्रदेशमा उद्योग, व्यापार तथा लगानी प्रवर्द्धनमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।