ज्योति विकास बैंकले सप्तरीमा निःशुल्क मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको छ । बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा जिल्लाको रूपनगरमा स्थित तिलगंगा शिविर सञ्चालन गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सो कार्यक्रम गरिएको बताइएको छ ।
शिविरमा दुई हजारजनाको निःशुल्क आँखा जाँच गरिएको थियो । कुल चार सय सातजनाको शल्यक्रिया भएकामा बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको शल्यक्रिया भएको छ । साथै, अन्य बिरामीलाई शल्यक्रियापश्चात् आवश्यक पर्ने चस्मा र औषधि पनि निःशुल्क प्रदान गरिएको बताइएको छ । यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यलाई निःशुल्क सेवा दिइएको छ ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतीविन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौताअनुरूप मोतीविन्दु शल्यक्रिया सम्पन्न गरिएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
साथै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न ७० वटा न्यानो नानीमार्फत नेपाली शिशुको जीवनरक्षा गर्दै आएको बताइएको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय १७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।