मकवानपुरमा लागुऔषध सेवन गरेर सवारी चलाउने १२ चालक पक्राउ

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मनहरी गाउँपालिकाअन्तर्गत सडक खण्डमा आकस्मिक जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ६५ वटा सवारीसाधन जाँच गरिएको थियो। सो क्रममा १२ जना चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो। प्रहरीले लागुऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले यस्तो गतिविधि नियन्त्रण गर्न विशेष चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ।

सडक सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई व्यापक रूपमा निरन्तरता दिइने र सवारीचालकहरूलाई लागुऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार