सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा प्रहरीले धरपकड गर्न थालेको भन्दै पर्साका लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। प्रहरीले धरपकड गर्न थालेपछि जिल्लाका लेखापढी व्यवसायीहरू सोमबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका हुन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी, भूमिसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा बसेर सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू अनिश्चितकालीन हडतालमा रहेको एसोसिएसनका पर्सा अध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए।
गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको थियो। अध्यक्ष यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार नै लेखापढी व्यवसायीहरू हडतालमा उत्रिएका हुन्।
लेखापढी व्यवसायीहरूलाई विनाकारण सम्बन्धित कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड र पक्राउ गरिएको उनले बताए। नेपाल सरकारको नियमअन्तर्गत रही भू–सेवा केन्द्र सञ्चालन अनुमति लिई धरौटी बुझाई कार्य सञ्चालन गरिरहेकाहरूलाई विभिन्न बहाना बनाई धरपकड गरिनु खेदजनक भएको यादवले बताए।
विभिन्न जिल्लाका कार्यालयबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे। पर्सामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका चार सयभन्दा बढी लेखापढी व्यवसायी छन्।
