- जुम्लाको कनकासुन्दरी गाउँपालिकाको न्याउरीगाडमा २१ महिनाअघि निर्माण थालिएको पुलको काम एकतिहाइ पनि सकिएन
रारा ताल जोड्ने सबैभन्दा छोटो सडकमार्गमा निर्माणाधीन पक्की पुलको काम निकै सुस्त देखिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका– १, न्याउरीगाडमा २१ महिनाअघि निर्माण थालिएको पक्की पुलको एउटा पिलर पनि बन्न सकेको छैन ।
जुम्लाको सदरमुकाम खलंगा हुँदै उर्थुचौतारा, पटमारा खालीपाटन, न्याउरीगाड, काँभ्रा, चौथा, बुलबुले घुच्चीलेक भएर मुगुको रारा ताल पुग्ने छोटो दूरीको सडकमार्ग यही हो । निर्माण थालिएको एक वर्ष नौ महिनामा पुलको एउटा आधा पिलर मात्रै निर्माण भएको छ । कामको गति निकै सुस्त भएपछि पुल तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिएको हो ।
१३ जेठ ०८१ मा ठेक्का सम्झौता भएको पुलको निर्माण ३० असार ०८३ मा सक्नुपर्नेछ । पुल ५ करोड ५४ लाख ८६ हजार दुई सय ४७ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरिएको थियो । तर, पुल निर्माण सम्पन्न गर्नुपर्ने समय तीन महिना मात्रै बाँकी एकतिहाइ काम पनि भएको छैन ।
काम सन्तोषजनक रूपमा अघि नबढ्दा आयोजना अलपत्र पर्ने चिन्ता बढेको स्थानीयले बताएका छन् । जुम्ला सदरमुकामबाट मुगुको राराताल जाने छोटो दूरीको मार्गमा पर्ने भएकाले यस पुलको रणनीतिक महŒव उच्च रहेको छ । पुल निर्माण नहुँदा वर्षायाममा विशेष गरी यात्रु तथा पर्यटकले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । यसले पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष असर पारिरहेको स्थानीयको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय जुम्लामार्फत यस पुल आयोजनाको कार्यान्वयन भइरहेको छ । कार्यालयका सिनियर डिभिजन अधिकृत रूपक रावलले पुल निर्माणमा ढिलाइ भएको स्वीकार गरे । उनले जाडो मौसमका कारण काम प्रभावित भएको दाबी गरे । ‘जाडो सकिएसँगै निर्माणकार्य सुरु भएको छ,’ उनले भने, ‘निरन्तर रूपमा काम अघि बढे आगामी वर्षसम्म पुल निर्माण सम्पन्न हुन सक्ने देखिन्छ ।’
उक्त पुल निर्माणको जिम्मा एमएस–एनसी जेभी काठमाडौंले पाएको थियो । स्थानीयस्तरमा पुलको निर्माणको काम व्यवसायी तुल्सी रावतले हेर्दै आएका छन् । तर, निर्माण ढिलाइबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।
यही ठाउँमा अहिले साना सवारी चल्न सक्ने काठेपुल छ । साना तथा मझौला सवारीसाधन यसै काठेपुलबाट आवतजावत गर्ने गरेका छन् । काठेपुल घामपानीका कारण छिट्टै जीर्ण हुने भएकाले समयमै समयमै पक्की पलु बनाउनुको विकल्प नभएको स्थानीयले बताएका छन् ।