ह्याट्रिकसहित हेमन्तको कीर्तिमानी बलिङ

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण
  • सुदूरपश्चिमका हेमन्त धामीले सात ओभरमा १४ रन खर्चेर सात विकेट लिँदै सन्दीप लामिछानेको रेकर्ड बराबरी गरे । गत साता सन्दीपले पनि कर्णालीविरुद्ध ४० रन खर्चेर सात विकेट हात पारेका थिए । 

सुदूरपश्चिमका बलर हेमन्त धामीले प्रधानमन्त्री (पिएम) कपमा कीर्तिमानी बलिङ प्रदर्शन गरेका छन् । पिएम कपअन्तर्गत २८औँ खेलमा सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । हेमन्तले बागमतीविरुद्ध १४ रन खर्चेर सात विकेट लिए । उनले कीर्तिमानी बलिङसँगै ह्याट्रिक विकेट पनि गरे । हेमन्तकै प्रदर्शनमा सुदूरपश्चिमले बागमतीलाई १६३ रनको फराकिलो अन्तरले हराएको छ । 

जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ६ खेलमा पाँच जितका साथ १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मीले ९ अंक जोडेको छ । आर्मीले सुदूरपश्चिमको तुलनामा एक खेल कम खेलेको छ । नेपाल पुलिस क्लब ७ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनी र मधेश प्रदेशले समान ७ अंक जोडेका छन् । रनरेटका आधारमा लुम्बिनी चौथो र मधेश पाँचौँ स्थानमा छन् । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाल एपिएफ ५ अंकका साथ छैटौँ स्थानमा छ । सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको बागमतीले हेमन्तको धारिलो बलिङ सामना गर्न नसक्दा ११.२ ओभरमा ४६ रनमै अलआउट भयो । यो पिएम कपकै कम योगफल हो । गत संस्करणमा लुम्बिनी प्रदेशविरुद्ध बागमती ६७ रनमा अलआउट भएको थियो । 

दोस्रो ओभरमै ह्याट्रिक 
जनकपुरको रंगशालामा बागमतीले २१० रनको लक्ष्य पछ्याएको थियो । बागमतीलाई जित निकाल्न प्रतिओभर ४.०५ रनरेट आवश्यक थियो । तर, फास्टबलर हेमन्तले दोस्रो ओभरमै उत्कृष्ट स्पेल गरे । उनले २.४ ओभरमा आशुतोष धिरैया, २.५ ओभरमा पवन थापा र २.६ ओभरमा ईशान पाण्डेको विकेट लिँदै ह्याट्रिक गरे । उनले तीन विकेट लिँदा बागमती १६–३ को नाजुक स्थितिमा पुग्यो । त्यसपछि हेमन्तले ८.४ ओभरमा अर्को विकेट हात पारे । हेमन्तले दुईपटक एकै ओभरमा तीन विकेट लिए पनि । 

१०औँ ओभरमा उनले पुनः तीन विकेटको प्रदर्शन गरे पनि ह्याट्रिक भने भएन । १०.१ ओभरमा रिजन ढकाल, १०.३ ओभरमा प्रतिश जिसी तथा १०.४ ओभरमा विपक्षी कप्तान सन्दीप लामिछानेको विकेट लिँदा सुदूरपश्चिम १६३ रनले विजयी भयो । १०औँ ओभरको समाप्तिसम्म बागमती ४६–९ को दयनीय अवस्थामा रह्यो । बागमतीले ४६ रनको योगफलमा तीन विकेट गुमाएको थियो । चालू पिएम कपमा सन्दीपले सात विकेटको प्रदर्शन गरी इतिहास बनाएका थिए । तर, उनको यो रेकर्ड हेमन्तले तोडेका छन् । सन्दीपले कर्णालीविरुद्ध ४० रन खर्चेर सात विकेट लिएका थिए । हेमन्तले भने ६ ओभरमा दुई मेडन राखी १४ रन खर्चेर सात विकेट हात पारेका थिए । 

पाँच ब्याट्सम्यानको शून्य रन
बागमतीले पिएम कपमा खराब ब्याटिङ प्रदर्शन गर्यो । हेमन्तको घातक बलिङका कारण बागमतीका पाँच ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । ओपनर आशुतोषले १० बल सामना गरेका थिए । उनी शून्यमा आउट भए । पवन तथा ईशान गोल्डेन डकआउट भए । यी दुवै खेलाडी सामना गरेको बलमै आउट भएका हुन् । हेमन्तले आफ्नो स्पेलमा चार खेलाडीलाई बोल्ड तथा दुईजनालाई एलबिडब्लुको धरापमा राखे । सो इनिङ्समा बागमतीका लागि शुभ कंशाकारले २५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ३२ रनको योगदान दिए । 

सन्दीप र प्रतिशले लिए समान चार विकेट
यसअघि पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमविरुद्ध बागमतीले पनि उत्कृष्ट बलिङ गरेको थियो । कप्तान सन्दीप र प्रतिशले समान चार विकेट लिँदा सुदूरपश्चिम पनि २०९ रनमै समेटियो । सन्दीपले १० ओभरमा एक मेडनसहित ३२ रन खर्चेर चार विकेट हात पारे । प्रतिशले ९.१ ओभरमा एक मेडन राखी २६ रन दिएर चारै विकेट लिए । सुदूरपश्चिमका लागि ओपनर अभिषेक राईले ३५ बलमा आठ चौका प्रहार गरी ३९ रन जोडे । दीपक बोहराले ४७ बल सामना गरी ४० रन जोडे । उनले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । सो इनिङ्समा आठौँ क्रमका नारायण जोशीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६८ बलमा ६ छक्का र दुई चौका प्रहार गरे ।

See More On

सुझावित समाचार