गुल्मीमा पिकअप गाडी घरमा ठोक्किँदा दुईको मृत्यु, १२ घाइते

वीरबास बजारमा किनमेल गरेर फर्कँदै गरेका महिला सवार गाडी दुर्घटना

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

गुल्मीको गुल्मीदरबार गाउँपालिका–४, मिसुकामा आइतबार पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

गुल्मी दरबारकै वीरबास बजारबाट मिसुकाका लागि छुटेको लु १ च ४९०६ नम्बरको पिकअप गाडी ब्रेक फेल भएर स्थानीय पम्फा श्रेष्ठको घरमा ठोक्किएर दुर्घटना भएको चालकले बताएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले बताए ।

उनका अनुसार दुर्घटनामा परी मिसुकाकी ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मीना सलामीको मृत्यु भएको छ । मिसुका गाउँका महिला स्थानीय वीरबास बजारमा किनमेल गरेर फर्कँदै गरेको गाडी दुर्घटनामा परेको हो ।  

प्रहरी नायब उपरीक्षक सारूका अनुसार डबल क्याब बोलेरो गाडीमा चालकसहित पाँचजनाको सिट पास हुने गरेको छ । तर, उक्त गाडीमा चालकसहित १४ जना थिए । ‘यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । 

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । तीमध्ये गम्भीर र मध्यम घाइते १० जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । मिसुकाका ४० वर्षीया जमुना ढेगा, ४५ वर्षीया सुमित्रा ढेगा, ३६ वर्षीया पार्वती ढेगा, ४४ वर्षीया खगी ढेगा, ३० वर्षीया  पम्फा ढेगा, ३३ वर्षीया कुमारी पुन ढेगाको अवस्था गम्भीर छ ।

मध्यम अवस्थाका घाइते २४ वर्षीया निर्मला ढेगा, उनकी छोरी ३ वर्षकी छाया ढेगा, ३१ वर्षकी माया ढेगा, ५५ वर्षीया नैना ढेगा हुन् । ७ वर्षका सनिम ढेगा र चालक ३८ वर्षका शेरबहादुर ढेगाको अवस्था सामान्य रहेकोले शृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

सुझावित समाचार