उदयपुरमा परीक्षाको मर्यादा भंग गरेको आरोपमा शिक्षक पक्राउ

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को मर्यादा भंग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

आइतबार बेलका नगरपालिका–१, पुरन्दहस्थित जनता बेलका माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको परीक्षाको अनुगमनका क्रममा ती शिक्षकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

अनुगमन टोलीले परीक्षा केन्द्रबाट करिब दुई सय मिटर टाढा शंकास्पद अवस्थामा रहेका सप्तरी जिल्ला महादेवा गाउँपालिका–३ घर भई हाल बेलका–४, गुरुङचौरीमा बस्दै आएका ४० वर्षीय संजीव यादवलाई पक्राउ गरेको हो। उनी जनता नमुना मावि गुरुङचौरीका गणित विषयका शिक्षक हुन्।

प्रहरीका अनुसार यादवको साथबाट रेड्मी कम्पनीको मोबाइल बरामद गरिएको छ। उक्त मोबाइल जाँच गर्दा ह्वाट्स एपमार्फत सोही दिन सञ्चालन भइरहेको अनिवार्य गणित विषयको प्रश्नपत्रको फोटो प्राप्त गरी त्यसको उत्तर तयार गरी पठाउने उद्देश्यले समन्वय भइरहेको भेटिएको खड्काको भनाइ छ।

यादवलाई आवश्यक कारबाहीका लागि शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको पत्रसहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। उनीमाथि शिक्षा ऐनअन्तर्गत परीक्षाको मर्यादा भंग गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको खड्काको भनाइ छ।

सुझावित समाचार