कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बिचभागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको हो।
आइतबार दिउँसो अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू सो तालको बिचभागमा फसेका थिए।
उनीहरू तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घर्तीमगरको कमान्डको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
उद्धार गरिएकामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३, बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३, बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन्।
