अशक्त, अपांग र गर्भवती महिलाले यात्रा गर्दा कुनै शुल्क तिर्नुपर्दैन : सञ्जाल

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

ई–रिक्साको पछाडि एउटा ब्यानर राखिएको छ ।  ब्यानरमा  कुनै आकर्षक विज्ञापनको छैन । त्यो ब्यानर निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले राखिएको हो । कर्म गर्नका लागि धन होइन, मन चाहिन्छ । त्यही मनले गर्दा नै ई–रिक्साको पछाडि अशक्त, अपांग, गर्भवती महिलाहरूका लागि नि:शुल्क सेवा लेखे । बाटोमा ई- रिक्सा लिएर यात्रु बोक्न  गुलरिया नगरपालिका– ५ मिलनटोलमा कोठाभाडामा लिएर बस्ने नन्दराज सञ्जाल हिँडे ।

ई- रिक्सा चलाएर सञ्जालले एकातिर अपांग, गर्भवती र  महिला नि:शुल्क सेवा प्रदान गर्दै आएका छन्  भने अर्कोतिर ई–रिक्सा चलाएर आएको आम्दानीले परिवारको जीविकोपार्जनसमेत गर्दै आएका छन् । 
उनले ई–रिक्सा चलाएर आएको आम्दानीबाट चारजनाको परिवार पाल्दै आएको बताए ।  

‘मैले  ई–रिक्साका चढ्ने अशक्त, अपांग, गर्भवती महिलासँग ई–रिक्सामा यात्रा गर्दा कुनै शुल्क लिने गरेको छैन,’ उनले भने, ‘ ई–रिक्सा चलाउन थालेको दुई वर्षजति भयो । मैले यात्रु बोक्नुको साथै घरदैलोमा पानीको जार पुर्याउने  कामसमेत गर्ने गरेको छु । तर, तीन महिना अगाडिबाट मात्र अशक्त, अपांग गर्भवती महिलालाई  निःशुल्क सेवा दिन थालेको हुँ ।’

 ई–रिक्साको पछाडि रहेको ब्यानरमा सञ्जालले प्रस्ट देखिने गरी आफ्नो  फोन नम्बर राखेका छन् । उनको फोन नम्बरमा  अशक्त, अपांग,  गर्भवती महिलाको लागि  ई –रिक्सा चाहिएको जानकारी आएमा तुरुन्त लिन जान्छन् । 

अशक्त, अपांग र  गर्भवती महिलालाई सेवा गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने गरेको सञ्जालले बताए । उनले भने, ‘धेरैलाई सहयोग गर्ने मन छ । तर, मसँग भएको सीमित स्रोतसाधनले गर्दा  धेरैलाई सहयोग गर्न सकेको छैन । कहिलेकाहीँ इच्छालाई पनि  बाध्यताले छेक्ने रहेछ । चाहेर पनि सबैलाई सहयोग गर्न सकेको छैन ।’

 एकपटक फूल चार्ज भएपछि ई-रिक्सा दुई किलोमिटर जति चल्ने गरेको उनले जानकारी दिए।  उनले भने, ‘टाढा जाँदा ई-रिक्साको चार्ज कति छ भनेर ख्याल गर्नुपर्छ । त्यहीँ भएर ४, ५, ६, ७ र ८ का अशक्त अपांग गर्भवती महिलालाई मात्र सेवा दिन सकेको छु ।’
 
सञ्जालले पालिकाभरि अशक्त, अपांग र गर्भवती महिलालाई  सहयोग गर्ने मन भएको बताए । उनले भने, ‘अहिले  बाध्यता गर्दा अहिले पाँचवटा वडाका अशक्त अपांग,  गर्भवती  महिलाहरूलाई  मात्र सहयोग गर्न सकेको छु ।’

सञ्जालले ई–रिक्सा चलाएर मासिक ४० हजार रुपैयाँजति आम्दानी गर्छन्  भने ई- रिक्सा चार्ज गर्दा  मासिक तीन हजार रुपैयाँदेखि तीन हजार पाँच सय रुपैयाँसम्म बिजुलीको बिल आउने गरेको बताए । उनले भने, ‘महिना ई–रिक्सा चलाएर आएको आम्दानीबाट ई-रिक्साको चार्जदेखि मर्मतसम्म गर्नुपर्छ, त्यही भएर मासिक यति नै आम्दानी हुन्छ भन्ने नै हुँदैन ।’

सञ्जालले आफूले सक्ने वेलासम्म अशक्त, अपांग, गर्भवती महिलालाई  निःशुल्क सेवा प्रदान गर्ने चाहना रहेको बताए । उनले भने, ‘अशक्त, अपांग गर्भवती महिलाहरूले  पैसा दिन खोज्नुहुन्छ । तर, मैले पैसा लिने गरेको छैन । जिन्दगीमा आफूले जति सकिन्छ, त्यति समाजका लागि योगदान गर्ने हो । अरूले के गरेभन्दा पनि मैले के गरेँ भन्ने महत्त्वपूर्ण भन्ने मलाई लाग्ने गर्छ ।’

सञ्जालले गरेको कामको पछिल्लो गुलरिया नगरपालिकाआसपास क्षेत्रमा चर्चा हुन थालेको छ भने ई–रिक्सा चढ्ने अशक्त, अपांग, गर्भवती महिलाहरूले सञ्जाललाई खुसी हुँदै धन्यवाद दिने  गरेका छन् । बर्दिया ई-रिक्सामा यसरी नि:शुल्क सेवा प्रदान गर्ने सञ्जाल मात्र हुन् ।

सुझावित समाचार