विराट गोल्डकप फुटबल प्रतियोगिता २८ चैतबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा आगामी ५ वैशाखसम्म हुने गोल्डकपमा स्वदेशी र विदेशी टोलीले प्रतिस्पर्धा गर्ने ट्रस्टका प्रवक्ता धनकुमार लामाले बताए ।
मोरङ जिल्लाको लिग विजेता सम्राट स्पोर्टिङ क्लबदेखि भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीले भाग लिने लामाले बताए । विजेताले ११ लाख रुपैयाँ पाउनेछन् । उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको दोस्रो खेलमा नेपाल एपिएफले साबिक उपविजेता चर्च ब्वाइजको सामना गर्नेछ । साबिक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति रहँदा तेस्रो खेलमा नेपाल पुलिसले ०८० को विजेता मच्छिन्द्र फुटबलको सामना गर्नेछ ।