आर्थिक रुपान्तरणलाई प्रमुख एजेण्डा बनाएर काम थालिसक्यौँ : अर्थमन्त्री वाग्ले

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण
आर्थिक रुपान्तरणलाई प्रमुख एजेण्डा बनाएर काम थालिसक्यौँ : अर्थमन्त्री वाग्ले

फाइल तस्बिर

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रुपान्तरणका लागि नै रास्वपाले अभूतपूर्व जनादेश पाएकाले त्यसैलाई प्रमुख एजेण्डा बनाएर काम थालिसकेको बताएका छन्। वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्व बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन्।

पर्सा र बाराका उद्योगी व्यवसायीहरुको गुनासो र सुझाव सुनेपछि अर्थमन्त्री वाग्लेले आर्थिक रुपान्तरणलाई प्रमुख एजेण्डा बनाएर काम थालिसकेको बताए। अबको बजेट आर्थिक रुपान्तरणका लागि हुनुपर्छ भन्ने मूल ध्येय राखेर सरकार अघि बढेको उनले प्रष्ट पारे। 

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीबाट आएका सुझावहरु अध्ययन गरेर सम्भव भएसम्म आगामी बजेटमा समेट्ने प्रयास गरिने उनले आश्वासन दिए। सरकारले बजेट कार्यान्वयन गर्न सुरु गरिसकेको भन्दै उनले आर्थिक सुधार समितिको प्रतिवेदन कार्यान्वयनपछि मुलुकको अर्थतन्त्रमा विद्यमान धेरै बेथितिहरु समाप्त भएर जाने बताए।

यसअघिको सरकारका अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार समितिले बुझाएको प्रतिवेदनबारे उनले भने, ‘यो सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको छ। 

मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकार गठन भए लगत्तै राजस्व विभागसहितका केही निकायहरु सरकारले खारेज गरेर काम सुरु गरिसकेको भन्दै उनले भने, ‘यो त कास्टिङ मात्रै हो, पूरा फिल्म त अझ हेर्न बाँकी नै छ।’ 

विगतका सरकारहरुलाई जस्तो यो सरकारलाई छुट नरहेको उल्लेख गर्दै उनले भने, ‘किनकी यो सरकारले जुन अभूतपूर्व जनादेश पाएको छ, त्यो सुधारका लागि नै हो, सुशासनका लागि नै हो।’ सरकारको पहिलो प्राथमिकतामा सुशासन, दोस्रोमा मध्यम वर्गको जीवनस्तर सुधार र तेस्रोमा रोजगारी सिर्जना रहेको उनले सुनाए।

सरकारका पछिल्ला गतिविधिहरु कुनै व्यक्ति विशेषलाई लक्षित गरेर नभई सुशासनको थिति बसाल्ने नियतले अगाडि बढेको भन्दै अर्थमन्त्री वाग्लेले भने, ‘यो सरकारले सुशासनका लागि निर्मम भएर चालेका कदमबाट कोहि अतालिन्छ भने त्यसले केहि फरक पर्दैन।’

सुझावित समाचार