अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी कार्य सम्पन्न गर्न उक्त समिति गठन गरिएको हो।
समितिले आर्थिक वर्ष ०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने, संघीय संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्नेछ।
समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री रहेका छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको जनाएको छ।
यस्ता छन् समितिका कार्यक्षेत्र
आर्थिक वर्ष ०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने,
आर्थिक वर्ष ०८३/८४ मा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने,
संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने,
आर्थिक वर्ष ०८३/८४ को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने