हन्डरबाट पनि नचेतेको एमाले

संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोजेका युवा सांसद सुहाङ नेम्वाङलाई नेतृत्वबाटै उम्मेदवारसमेत बन्न नसक्ने वातावरण बनाएपछि पार्टीभित्रै चर्को विरोध, युवाहरूले पार्टी कार्यालयमा गरे प्रदर्शन

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण
हन्डरबाट पनि नचेतेको एमाले

सुहाङ नेम्वाङलाई दलको नेता बन्न पार्टी महासचिव शंकर पोखरेललगायतले रोकेको भन्दै विरोधस्वरूप एमालेनिकट विद्यार्थी पार्टी कार्यालयमा धर्नामा । तस्बिर : संजित परियार/नयाँ पत्रिका

गत २१ फागुनको चुनावमा अकल्पनीय हारपछि पार्टी सुधारका लागि पुनर्गठनको दबाब बढिरहेका वेला एमालेले युवा सांसद सुहाङ नेम्वाङलाई संसदीय दलको नेतामा रोकेर विरोधका आवाजलाई निषेध गर्ने संकेत गरेको छ । बुधबार संसदीय दलको चुनावी प्रक्रियामा नेम्वाङलाई दलको नेताको उम्मेदवारीमै रोकेर समानुपातिकबाट सांसद बनेका रामबहादुर थापा बादललाई सर्वसम्मत नेता घोषणा गरिएसँगै महासचिव शंकर पोखरेलसहित संस्थापन पक्षका नेताहरूमाथि आलोचना बढेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा पोखरेलसहितका नेताहरूको विरोधमा लगातार धर्ना र दबाबका कार्यक्रम अघि बढेको छ भने संसद्मा थापाले बिहीबार गरेको सम्बोधनलाई लिएर पदाधिकारी तहकै नेताहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । नेतृत्वको पछिल्लो कदम र असन्तुष्टिलाई हेर्दा एमाले सुधारको बाटोको सट्टा उल्टो यात्रातिर हिँडेको विश्लेषकहरूको टिप्पणी छ ।

‘संसदीय दलको नेता चयनपछि रामबहादुर थापाले संसद्मा बोलेको धारणालाई समेत जोडेर हेर्दा एमालेले सुध्रिने छाँट देखाएन । चुनावी परिणामबाट अलिहेसम्मकै ठुलो ठक्कर खाँदा पनि एमालेको चेत खुलेको देखिएन,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले भने, ‘चुनावी परिणाम अस्वीकार गर्दै नेपाली सेना, बारबरा फाउन्डेसनलगायतलाई दोष दिएर चुनावै हाइज्याक गरेको आरोप लगाएर पन्छिन खोजेको छ । यत्रो हन्डर खाएपछि पाठ सिक्नुपर्नेमा उल्टो बाटोमा हिँड्न खोजेको हो कि जस्तो देखिन्छ ।’

युवा सांसद नेम्वाङलाई पार्टी नेतृत्वको दबाबमा महासचिव शंकर पोखरेलले योजनाबद्ध रूपमै उम्मेदवार बन्न नदिएको आरोपसहित विद्यार्थीको एउटा समूहले बिहीबार पार्टी कार्यालयमा झन्डै पौने घण्टा प्लेकार्डसहित धर्ना दिएको छ । त्यही समूहले बुधबार राति पनि पार्टी कार्यालय पुगेर प्रदर्शन गरेको थियो । नेतृत्वको कार्यशैली निरंकुश भएको र पार्टी कमजोर हालतमा पुग्दा पनि देशमा व्यक्त जनमत र युवाहरूको भावनालाई अवमूल्यन गरिएको भन्दै विरोधमा युवाहरूले प्रदर्शन गरेका हुन् ।

पार्टी कार्यालय च्यासलमा प्लेकार्डसहित प्रदर्शन गरेका युवाहरूले आजसम्मको योगदानका लागि आभार व्यक्त गर्दै अब नयाँ पुस्ताको नेतृत्व र विचारलाई अघि सार्नुपर्ने माग गरेका छन् । उनीहरूले ‘हामी कार्यकर्ता हौँ, नेताको दास होइन’, ‘नेतृत्व सुध्रिएन भने विद्रोह हुन्छ’, ‘जबजलाई लागू गर, जबजको अपव्याख्या बन्द गर’जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।‘नेकपा एमालेका युवा’का नाममा संगठित समूहले धर्नाका क्रममा पार्टीलाई पुनर्गठन गर्न विशेष महाधिवेशनको दिशामा अगाडि बढाउनुपर्ने मागसमेत राखेका छन् । 

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले युवा–विद्यार्थीको असन्तुष्टिसहितको विरोध प्रदर्शनबारे पार्टी नेतृत्वलाई जानकारी भइसकेकाले आन्तरिक मामिलाको विषय बैठकको छलफलबाटै सम्बोधन हुने बताए । ‘उहाँहरू आएर केहीबेर प्लेडकार्डसहित प्रदर्शन गर्नुभएको छ, आन्तरिक विषय भएकाले पार्टी नेतृत्वलाई जानकारी गराइएको छ, नेतृत्वले अबको बैठकबाट छलफल गरेर रेस्पोन्स गर्ला,’ उनले भने । एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबार केन्द्रीय कार्यालयमा डाकिएको छ । 

 एमालेले सुध्रिने छाँट देखाएन 
 कृष्ण पोखरेल,राजनीतिक विश्लेषक

संसदीय दलको नेता चयनपछि रामबहादुर थापाले संसद्मा बोलेको धारणालाई समेत जोडेर हेर्दा एमालेले सुध्रिने छाँट देखाएन । चुनावी परिणामबाट अहिलेसम्मकै ठुलो ठक्कर खाँदा पनि एमालेको चेत खुलेको देखिएन । चुनावी परिणाम अस्वीकार गर्दै नेपाली सेना, बारबरा फाउन्डेसनलगायतलाई दोष दिएर चुनावै हाइज्याक गरेको आरोप लगाएर पन्छिन खोजेको छ । यत्रो हन्डर खाएपछि पाठ सिक्नुपर्नेमा उल्टो बाटोमा हिँड्न खोजेको हो कि जस्तो देखिन्छ । 

सुहाङ नेम्वाङले भने– कालकुट विष पिएँ, परिणाम जे आए पनि अविचलित छु 
संसदीय दलको नेता बन्न नदिइएपछि नेम्वाङले पनि सार्जजनिक रूपमा असन्तुष्टि पोखेका छन् । उनले आफ्ना विचार पार्टीका फोरमहरूमै राख्ने तयारी भए पनि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू सम्बोधनका लागि टिप्पणी गर्न बाध्य भएको खुलाएका छन् । ‘मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्वाकांक्षा थिएन ।

बरु, यो पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो । म जानकार छु, हाम्रो मनोविज्ञान र गरिआएको अभ्यासका आधारमा मेरो यो कदम व्यक्तिगत रूपमा फाइदाजनक नहोला । मलाई यो पनि बोध छ, ‘बाक्लो अँध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयं मैनबत्ती बनेर जल्नैपर्छ । मजस्तै हजारौँ युवाहरूको मनमा सल्किएको चिन्ताको आँधीबेहरी देखेर मैले ‘कालकुट विष’ पिएको हुँ । प्राविधिक परिणाम जे–जस्तो आए पनि पार्टी र आन्दोलनलाई जीवन्त राख्न यस्ता अभ्यासहरू जारी राख्नुपर्छ भन्नेमा म अविचलित छु,’ उनले लेखेका छन् ।

नेम्वाङले पार्टी नेतृत्वलक्षित नकारात्मक र आवेगपूर्ण टिप्पणी नगर्न पनि ध्यानाकर्षण गराएका छन् । ‘सामाजिक सञ्जालमा एक–अर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ । म पुनः विनम्रताका साथ पार्टी, नेतृत्व र नेताहरूका विरुद्ध आवेगपूर्ण टिप्पणी नगरिदिनुहुन अनुरोध गर्दछु,’ उनले भनेका छन् । नेपाली राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको र नयाँ मानक, बिम्ब एवं मूल्यहरू निर्माण भएका कारण पनि आफूले उम्मेदवारी दिने योजना बनाउन बाध्य भएको उनले स्मरण गरेका छन् । 

See More On

सुझावित समाचार