धनकुटाबाट ४४ केजी गाँजासहित एकजना पक्राउ

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

धनकुटा नगरपालिका–९, मूलघाटस्थित त्रिवेणी–मूलघाट भित्री सकडबाट प्रहरीले ४३ केजी ९९० ग्राम लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

त्रिवेणीबाट मूलघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ६९८१ नम्बरको मोटरसाइकलमा सवार सहिदभूमि गाउँपालिका–७ का २२ वर्षीय सुसान भन्ने सुदीप राईलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ज्ञानकुमार महत्तोले जानकारी दिए।

प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरीको गस्ती टोलीले दुईवटा मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो। तीमध्ये राई सवार मोटरसाइकलमा बाँधेको जेब्रा झोलाबाट १९ केजी ८५० ग्राम र को २१ प ९५६५ नम्बरको अर्को मोटरसाइकलबाट २४ केजी १४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले बताएको छ। को २१ प ९५६५ नम्बरको मोटरसाइकलमा सवार दुईजना भने फरार रहेको प्रहरीले बताएको छ।

पक्राउ परेका राईलाई आजै लागुऔषध कारोबारअन्तर्गतको मुद्दा दायर गरी जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप गरिएको छ भने फरार रहेका दुईजनाको खोजतलास गरिरहेको प्रहरीले बताएको छ।

सुझावित समाचार