नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको यही ०८२ चैत १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो ।

धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यसप्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबिच मात्रै खरिद–बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एन बैंक सञ्चालनमा ल्याएको छ ।

सुझावित समाचार