इटाली लगातार तेस्रोपटक विश्वकप छनोटमै सीमित

चारपटकको विश्वविजेता इटालीले सन् २०१४ यता फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

चारपटकको विजेता इटाली बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आगामी जुन–जुलाईमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । फुटबल इतिहासमा विश्व च्याम्पियन टोली लगातार तीनपटक विश्वकपमा छनोट नभएको पहिलोपटक हो । सन् २०१४ मा ब्राजिल विश्वकपपछि इटाली २०१८ (रुस) र २०२२ (कतार) संस्करणमा समेत छनोट भएको थिएन । 

बोस्निया हर्जगोभिना भने दोस्रोपटक विश्वकपमा छनोट भएको छ । ४० वर्षीय कप्तान एडिन जेको टोलीलाई ऐतिहासिक सफलता दिलाउन सफल भए । बोस्नियाले अब विश्वकपको समूह ‘बी’मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । हारपछि इटालीका प्रशिक्षक जेन्नारो गाटुसो भावुक देखिए । ‘यो हार सामान्य होइन । अन्तिम नतिजा हेरेपछि मेरो मुटु दुख्यो,’ गाटुसोले भने, ‘इटालीको जित चाहेका थियौँ, हामीले कसैलाई सुख दिन सकेनौँ । यसका लागि सबैसँग माफी माग्दछु ।’ 

इटालियन फुटबल महासंघका अध्यक्ष ग्याब्रिएल ग्राभिनाले यसलाई इटालियन फुटबलको गहिरो संकट भनेका छन् । अध्यक्ष ग्राभिनाले प्रशिक्षकलाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सन् २००६ मा विश्वकप जितेयता इटालीको प्रदर्शन लगातार खस्किएको छ । सन् २०१० र २०१४ को विश्वकपमा इटाली समूह चरणबाटै बाहिरिएको थियो । युरो २०२० को उपाधि जिते पनि इटालीले विश्वकप छनोटमा कमजोर प्रदर्शन गरिरहेको छ । 

विश्वकप इतिहासमा साबिक विजेता बाहिरिएको रेकर्ड छ । सन् १९७० को विश्वकप विजेता अर्जेन्टिना अर्को संस्करणमा छनोट भएन । यसैगरी सन् १९६६ मा पहिलोपटक विश्व च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९७० को विश्वकपमा पुगेन । सन् १९७४ र ७८ को विश्वकप फाइनलिस्ट नेदरल्यान्ड्स सन् १९८२ को विश्वकपको छनोट चरणमै सीमित भएको थियो । 

 ५२ वर्षपछि कंगो छनोट 
डेमोक्रेटिक रिपब्लिक अफ कंगो ५२ वर्षपछि विश्वकप फुटबलमा छनोट भएको छ । मेक्सिकोको ग्वाडालाजारा रंगशालामा बुधबार अन्तरमहादेशीय प्लेअफ फाइनलमा जमैकालाई १–० ले हराउँदै कंगोले विश्वकप खेल्ने सपना पूरा गरेको हो । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

खेलको सय मिनेटमा डिफेन्डर एक्सेल टुआन्जेबेले निर्णायक गोल गर्दै कंगोको विश्वकप यात्रा पक्का पारे । कर्नरबाट आएको बल जमैकाका डिफेन्डरलाई लाग्दै टुआन्जेबेको शरीरमा ठोक्किएर गोल भएको थियो । भिडियो असिस्टेन्ट रेफ्रीले ह्यान्डबल नभएको पुष्टि गरेपछि कंगोले जितको खुसी मनाएको थियो । 

कंगोले अन्तिमपटक सन् १९७४ मा विश्वकप खेलेको थियो । त्यसवेला कंगोलाई जायर भनिएको थियो । पहिलोपटकको सहभागितामा कंगोले युगोस्लाभियासँग ९–० को लज्जास्पद हारको सामना गर्यो । विश्वकप २०२६ मा कंगो समूह ‘के’मा रहनेछ । उसले पोर्चुगल, कोलम्बिया र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । ‘कंगोका समर्थकका लागि यो एक नयाँ युगको सुरुवात हो, जहाँ उनीहरूको नयाँ पुस्ताले पहिलोपटक आफ्नो देशलाई विश्वको सबैभन्दा ठुलो मञ्चमा खेल्दै गरेको देख्न पाउनेछन्,’ निर्णायक गोल गरेका एक्सेलले भने । 

सुझावित समाचार