सिङ्गो गाउँ भैँसीपालनमा

एउटै घरमा ५२ वटासम्म दुहुना भैँसी, बाजेको पालादेखिको व्यवसायमा नातिपुस्ता पनि आकर्षित

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण
सिङ्गो गाउँ भैँसीपालनमा

हल्कारापुर्वाका किसान रामसोहन यादवको गोठबाहिर बाँधिएका भैँसी । उनले पाडापाडीसहित १५० भैँसी पालेका छन्, तीमध्ये ५२ वटा दुहुना छन् ।

३४ घरपरिवार रहेको बाँके डुडुवा गाउँपालिका– ३, हल्कारापुर्वामा ६ सय भैँसी छन् । यादव परिवारकोे बसोबास रहेको यो गाउँका बासिन्दाले भैँसीपालनबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँबाट दैनिक ६ सय लिटर दुध बजार जाने गरेको स्थानीय विष्णुप्रसाद यादवले बताए । ‘कसैको घरमा थोरै होलान्, तर यहाँ भैँसी नपाल्ने परिवार छैन,’ उनले भने, ‘दैनिक ६ सय लिटर दुध बजार जान्छ । केही गाउँमै बिक्री हुन्छ ।’ 

हल्कारापुर्वाका रामसोहन यादव बिहान ३ बजे उठ्छन् । उमेरले ६ दशक पूरा गरेका उनको दैनिकी भैँसीको रेखदेखमा बित्छ । बुबाबाजेले गरेको पेसालाई निरन्तरता दिँदै उनले भैँसीको संख्या घट्न दिएका छैनन् । उनीसँग अहिले पाडापाडीसहित १५० भैँसी छन् । तीमध्ये ५२ वटा दुहुना भैँसी भएको उनले बताए । हजुरबुबाको पालाबाट भैँसीपालन गर्दै आएको उनको परिवार अहिले पनि यही पेसामा जमेको छ ।

दैनिक करिब तीन सय लिटर दुध कम्दीस्थित मिलनचोक बजार पठाउने गरेको उनले सुनाए । मिलनचोक हल्कारापुर्वाबाट करिब तीन किलोमिटर उत्तरमा पर्छ । ‘कम्तीमा दैनिक तीन सय लिटर दुध बिक्रीका लागि बजार पठाउँछौँ,’ उनले भने, ‘केही घरबाट नै बिक्री हुन्छ । केही खानका लागि घरमा राख्छौँ ।’ भैँसी चराउन दैनिक चारजना खटिने गरेको उनले बताए । धेरै भैँसी भएकाले एकजनाले सम्भव नभएको उनको भनाइ छ । ‘एक–दुईजनाले स्याहार्न सकिँदैन । दैनिक कम्तीमा चारजना चरिचरनका लागि खटिनुपर्छ,’ उनले भने । भैँसी चराउनका लागि दैनिक चारजना खटिने गरेको उनले बताए । ‘एक–दुईजनाले स्याहार्न सकिँदैन । दैनिक कम्तीमा चारजना चरिचरनका लागि खटिनुपर्छ,’ उनले भने । 

रामसोहनका चार छोराबुहारी छन् । चारै भाई भैँसीको स्याहारमा खटिने गरेको उनले बताए । ‘चार भाई छोरा, बुहारी र नातीनतिना सवै भैँसीको रेखदेखमा खटिन्छन्,’ उनले भने, ‘भैँसी पालनसँगै खेतीपाती पनि गर्छौँ ।’गाउँका अधिकांशले परम्परागत रूपमा भैँसी पाल्दै आएका छन् । दिनभर जंगल र मैदानमा चराउँदै आएका यहाँका किसानको भैँसीगोठ पनि परम्परागत नै छ । ‘बाबुबाजेले पालन गर्दै आएको जे देख्यौँ त्यहीअनुसार पाल्दै आएका छौँ,’ विष्णुप्रसादले भने, ‘परम्परागत रूपमा भैँसी पाल्दा पनि हामीलाई घाटा छैन ।’

पक्की गोठमा राख्दा भैँसीको खुर खिइने भएकाले कच्ची गोठमा राख्दै आएको उनले बताए । जस्तापाताले छाएको गोठमा गर्मी हुन्छ र सिमेन्टेड भुइँ भएको गोठमा राख्दा खुर खिइने र भैँसीले पिर मान्ने हुन्छ,’ उनले भने, ‘परम्परादेखि जे चलिआएको छ । सोहीअनुसार अहिले पनि भैँसीलाई राख्दै आएका छौँ ।’

युवाको रोजाइमा भैँसीपालन
हल्कारापुर्वाका ३१ वर्षीय विष्णुप्रसाद यादवको दैनिकी पनि भैँसी स्याहार्नमै बित्छ । उनीसँग १९ वटा मुर्रा भैँसी छन् । सानैदेखि भैँसीसँगै खेलेकाले अन्य व्यवसायभन्दा भैँसीपालन सजिलो लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘भैँसीपालनको आम्दानी जागिरेको पारिश्रमिकभन्दा धेरै हुन्छ । जागिरी गर्दा घरबाहिर जानुपर्छ नै, अर्काको कुरा सुन्नुपर्छ । यसमा कसैको टोकाइ खान पनि पर्दैन ।’

सोही गाउँका ३५ वर्षीय रामफेरन यादवको घरमा तीन दर्जन भैँसी र पाडापाडी छन् । व्यापार र जागिर खाने सोच कहिल्यै नआएको उनले बताए । बालखैदेखि भैँसीको स्याहार, सुसारमा खटिँदै आएका उनी दुधको व्यापारसमेत गर्छन् । बिहान–बेलुका भैँसीको स्याहार–सुसार गर्छु । फुर्सदको समयमा दुधको व्यापार गर्छु,’ उनले भने, ‘जागिरी र व्यापारका लागि नयाँ सिप सिक्नुपथ्र्यो । पहिलेदेखि भैँसीपालन गरेकाले थप सिप सिक्नुपर्ने नभएकाले यही पेसा सजिलो लाग्छ ।’

चरिचरनको छैन समस्या
यहाँका किसानले परम्परागत रूपमा भैँसी पाल्दै आएका छन् । हिउँद र बर्खामा गाउँदेखि झन्डै १० किलोमिटर टाढा जंगलको बिचमा रहेको खजुरागौडीमा गोठ सार्छन् । ‘अहिलेसम्म चरिचरनको समस्या छैन । हिउँद र बर्खामा गोठ सार्छौँ । हिउँदे बाली भिœयाएपछि गाउँमा ल्याउँछौँ,’ विष्णुप्रसादले भने, ‘गर्मीयाममा जमिन खाली हुने भएकाले गाउँमै ल्याउँछौँ ।’
गाउँनजिकै रहेको डुडुवा खोलाले भैँसीपालनमा सहजता थपेको स्थानीय दुर्गाप्रसाद यादवले बताए । खोलाको पानीमा भैँसी आहाल बस्ने र सोही पानी पिउने गरेको उनले बताए । ‘डुडुवाको पानीमा आहाल बस्छन् । फोहोर भएका भैँसीलाई नुहाइदिन्छौँ । पानी खुवाउन पनि सहज भएको छ,’ उनले भने । 

मुर्रा भैँसीतर्फ किसान आकर्षित
रामफेरन यादवको घरमा १९ वटा मुर्रा भैँसी छन् । तीमध्ये उनले दैनिक कम्तीमा ५० लिटर दुध उत्पादन गर्छन् । लोकल भैँसीले थोरै दुध दिने भएपछि उनले मुर्रा भैँसी थप्दै गएको बताए । ‘लोकल र मुर्रा भैँसीलाई स्याहार गर्ने समय तथा दानापानी खाने उत्तिकै हो,’ उनले भने, ‘लोकल हटाएर मुर्रा भैँसी मात्र राखेका छौँ । गाउँका अन्य परिवारले पनि लोकल भैँसीको ठाउँमा बिस्तारै मुर्रा भैँसी बढाउँदै लगेका छन् ।’

उनले डेढ लाखमा मुर्रा भैँसी ल्याएको बताए । यो जातको भैँसी खरिद गर्दा महँगो परे पनि घाटा नहुने बताए । ‘किन्दा महँगो परे पनि बिक्री सजिलै हुन्छ र दुध धेरै दिने भएकाले मोल छिट्टै उठाउँछ,’ उनले भने । 

तर, सरकारी अनुदानबाट वञ्चित
यहाँका किसानको मुख्य पेसा नै भैँसीपालन रहे पनि राज्यबाट कुनै सुविधा नपाएको स्थानीय दिनेशप्रसाद यादवले बताए । राज्यले दिने सेवा, सुविधासम्म पहुँच नपुगेको उनले गुनासो गरे । ‘राज्यले वार्षिक करोडौँ रुपैयाँ किसानलाई बाँड्छ भन्ने सुन्छौँ, तर अहिलेसम्म हामीकहाँ पुगेको छैन,’ उनले भने, ‘अनुदानका लागि फाराम खुल्छ भन्ने सुनेका छौँ, तर कहिले खुल्छ हामीलाई पत्तो हुँदैन ।’

उनले भैँसीसँग खेल्ने भएकाले अनुदानका लागि आवश्यक पर्ने कागजात मिलाउन नसक्ने बताए । ‘अनुदानका लागि फार्म दर्ता, आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर लिएको र हरेक वर्ष लेखा परीक्षण गराएको हुनुपर्छ भन्छन् । हामी भैँसी चराउनेले यी सबै कागजात मिलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘यस्तो झन्झट गर्नुभन्दा अनुदान नै नलिए राम्रो लाग्छ ।’

सुझावित समाचार