चितवनको भरतपुर महानगरपालिका– २९, दासढुंगा क्षेत्रमा बस र तेल ट्यांकर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्।
चितवन प्रहरीका अनुसार मंगलबार दिउँसो वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडककिनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्यांकरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा चितवन राप्ती नगरपालिका–२ की ११ वर्षीया रूपा सुनार, मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ का ८५ वर्षीय ज्ञानेन्द्रप्रसाद दाहाल, मकवानपुर घर बताउने ५४ वर्षीय श्याम लामा, भरतपुर–११ का १६ वर्षीय आयुष ढकाल, २० वर्षीय संकेत प्रजा, १० वर्षीय मनीष ढकाल, माडी नगरपालिका–९ का १४ वर्षीय कृष्ण तामाङ र ७ वर्षीय आर्मन राई सामान्य घाइते भएका छन्।
यस्तै, राप्ती–२ का ४० वर्षीय दीपक सुनार र माडी–९ की ४२ वर्षीया सरिता सुनार मध्यम घाइते भएका छन्। दुईजना अन्दाजी ३८ र २५ वर्षका पुरुष भने गम्भीर घाइते रहेका प्रहरीले जनाएको छ। उनीहरूको परिचय खुलेको छैन। माडी–९ की १९ वर्षीया पुष्पा प्रजा पनि खुट्टामा चोट लागेर उपचाररत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बसमा सवार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित नेसनल सिटी अस्पताल पठाइएको छ। दुर्घटनापछि बस र ट्यांकरचालक भने सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।