प्रादेशिक अस्पताल जलेश्वर सुधारका लागि स्थानीय युवाहरूले मधेश सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रादेशिक अस्पताल जलेश्वरमा आजदेखि सुरु भएको डायलाइसिस सेवाको उद्घाटन गर्न आइपुगेका मधेश प्रदेशका स्वास्थ्यमन्त्री जंगीलाल यादवलाई युवाहरूको समूहले ध्यानाकर्षणपत्र बुझाएको हो।
अस्पतालमा खरिद गरेर राखिएका उपकरणहरू दक्ष जनशक्ति अभावमा प्रयोगविहीन रहेकाले जनशक्ति थपेर यथाशीघ्र सञ्चालनमा ल्याई विभिन्न भ्रष्टाचारको छानबिनको विषयमा ध्यानाकर्षण गराइएको हो।
काठमाडौंमा वीर अस्पताल सञ्चालनमा आएकै सेरोफेरोमा सञ्चालनमा आएको जलेश्वर अस्पताल कुनै वेला अञ्चल अस्पतालकै रूपमा रहे पनि यसको प्रमोसनको साटो डिमोसन हुनुले अस्पतालप्रति सरकारको चासो हराएको अनुभूति भएको स्थानीय युवक आकाश साहले बताए।
उनले भने, ‘अस्पताल नमुना बनाउनुपर्ने समय छ। १५ बेडको अस्पतालले जनतालाई गिज्याइरहेकाले यसलाई तत्काल अपग्रेड गर्नुका साथै अस्पतालमा विभिन्न स्वार्थमा भएको नियुक्तिहरूको समेत जाँच हुनुपर्छ। अस्पताल व्यवस्थापन समितिमा पुराना र आलोचित व्यक्ति आउनुहुँदैन।’