अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई)का प्रनिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । तर, उदारताको नाममा छाडा हुन भने नदिइने उनको भनाइ छ । सिएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले अर्थमन्त्री वाग्लेलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विद्यमान समस्या एवं समाधानका उपायका विषयमा छलफल गरेको छ ।
सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिए । उनले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पुराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट रूपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गरे । रोजगारी सिर्जना, उच्च अंकको आर्थिक वृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने सुझाए ।
परिसंघले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र कसरी १०० अर्ब डलरको बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई उपलब्ध गराउने जानकारी गराए ।
अर्थमन्त्री वाग्लेले ओरालो लागेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताए ।
निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योगलाई सरकारले फरक रूपमा हेर्ने बताए । ‘लाइन बस्नुनपरोस्, घुस दिनुनपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिनेछ,’ अर्थमन्त्री वाग्लेको भनाइ थियो । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्न{ अग्रसर हुने बताए । बहुराष्ट्रिय ठुलो कम्पनी वा त्यसको लगानी भिœयाउन भूमिका खेल्न परिसंघलाई आग्रहसमेत गरे ।
अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनहरूका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गरे ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन सारडा, शशिकान्त अग्रवाल, उपाध्यक्षहरू हेमराज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्यद्वय विदुषी राणा, सन्दीप सारडा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनीष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझाको उपस्थिति थियो ।
नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँ : अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश भनेर चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । ‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ । देश बनाउने हुटहुटी बोकेर आएका छौँ,’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौँ ।’
उनले इमानदार उद्योगी–व्यापारीलाई कानुनका कारण बदनाम हुने अवस्था नआउने बताए । ‘इमानदार उद्योगी–व्यापारी कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन हामीले काम गर्छौँ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्नेले अब राज्यका कारण दुःख पाउँदैन, त्यसको ग्यारेन्टी म गर्छु । अर्थतन्त्र बनाउन राज्यले के–के गर्नुपर्छ ? भन्नुन्, हामी सबै गर्छौँ । तपाईंहरू पनि इमानदार भइदिनुस् ।’ अर्थतन्त्र बलियो बनाउन र मुलुकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन तयार हुनुपर्ने उनले बताए । ‘मैले पटक–पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस्,’ उनले भने, ‘राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु । तर, नियोजित र प्रायोजित गल्ती र बेइमानीमा भने हामी निर्मम हुन्छौँ ।’