नेपाली कांग्रेसभित्रको विवादप्रति असहमति जनाउँदै कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले पार्टीका कुनै पनि औपचारिक–अनौपचारिक कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुसमार्फत उनले पार्टीभित्र अहिले देखिएको संवेदनशील, जटिल र चुनौतीपूर्ण परिस्थितिमा सिंगो पार्टी एकजुट नहुँदासम्म पार्टीका कुनै पनि प्रकारका कार्यक्रममा सहभागी नहुने निर्णय लिन विवश भएको जनाएका छन् । आगामी दिनमा सम्भवतः आफू दलगत राजनीतिभन्दा टाढै रहने पनि उनले उल्लेख गरेका छन् ।
‘मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरूले खेलिरहेको आवश्यक अथवा अनावश्यक भूमिकाप्रति मेरो पूर्णतः असन्तुष्टि रहेको छ,’ शाहले भनेका छन्, ‘यो संवेदनशील जटिलतम् चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली कांग्रेस एकजुटताका साथ एकमुस्ट भएर नउभिँदासम्म मैले नितान्त भारी मनले विचार गरेँ कि अब उप्रान्त म पार्टीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयंले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु ।’
आन्तरिक विवादले पार्टी विभाजनतर्फ गए लोकतन्त्र र समाजवादप्रति आस्थावान् कांग्रेस कार्यकर्ताको भावनामाथि ठुलो आघात पुग्ने उनको भनाइ छ । कांग्रेसको विरासतमाथि खेलबाड नगर्न पनि उनले पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । २१ फागुनमा भएको चुनावमा शाह कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार थिए । निर्वाचनमा पराजित शाहले निर्वाचनको परिणामबाट आफू खासै हतोत्साहित नभएको र आफूले लिएको निर्णयलाई निर्वाचनको परिणामसँग नजोडिदिन आग्रह गरेका छन् ।
यसअघि दुई कार्यकाल कांग्रेस कैलालीको सभापति भइसकेका शाहका बुबा र बाजे पनि कांग्रेस राजनीतिमा सक्रिय रहेर कांग्रेस कैलाली तथा तत्कालीन जिल्ला विकास समितिको नेतृत्व गरेका थिए । विगतमा कांग्रेसभित्र शेखर कोइरालानिकट मानिने शाहको देउवा पक्षसँग पनि उत्तिकै निकटता रहेको बताइन्छ ।