काज लिएर सुगममा बसेका १४ विशेषज्ञ चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीको अभाव भइरहेका वेला पहुँचमा आधारमा सुगम तथा सहरी क्षेत्रका अस्पताल तथा सरकारी कार्यालयमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै अस्पतालमा फिर्ता पठाइएको छ । स्वास्थ्य मन्त्रालयले १६ चैतमा निर्णय गर्दै १४ जना चिकित्सकलाई दरबन्दी भएकै अस्पतालमा फिर्ता पठाएको हो । 

अस्पतालमै दरबन्दी भए पनि विशेषज्ञ चिकित्सकहरू पहुँचका आधारमा आफूलाई सहज हुने ठाउँमा कार्यरत रहँदै आएका छन् । अझ कतिपय चिकित्सक अस्पतालमै दरबन्दी हुँदा पनि पहुँचका आधारमा मन्त्रालयमा काजमा बसिरहेका छन् । जसकारण बिरामीले उपचार सेवासमेत पाउन कठिन हुने गरेको छ । नयाँ सरकार बनेसँगै स्वास्थ्य मन्त्रालय निर्मम भएर काजमा कार्यरत चिकित्सकलाई फिर्ता गर्न लागेको छ । 

सोमबार दरबन्दी अस्पतालमा भएर पनि पहुँचका आधारमा काजमा बसिरहेका नवौँ र दसौँ तहका १४ जना विशेषज्ञ डाक्टरको काज फिर्ता गरिएको छ । ती चिकित्सक आफूलाई पायक पर्ने गरी काजमा बस्दा सरकारी अस्पतालले जनशक्तिको अभाव खेप्दै आइरहेका थिए । 

स्वास्थ्य जनशक्ति अभावका कारण बिरामीले भौँतारिनुपर्ने र उपत्यकाभित्रकै अस्पतालसम्म धाउनुपर्ने अवस्थालाई मध्यनगर गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहताले जहाँ दरबन्दी छ, त्यहीँ फिर्ता हुन भन्दै पहिलो चरणमा १४ जनालाई निर्देशन दिएकी छिन् । 

यसरी काज बस्नेमा बढी दुर्गम क्षेत्रमा खटाइएका चिकित्सकहरू छन् । जसमा डा. रोहिता बज्राचार्यलाई गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमै पठाइएको छ । उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत थिइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा कार्यरत डा. जोसनलाई बज्राचार्य, कोशी अस्पताल विराटनगरमा कार्यरत डा. विशालकुमार देव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीमा कार्यरत डा. प्रकाश ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णालीमा कार्यरत डा. सुशील समदर्शीलाई पनि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा फिर्ता पठाइएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा काजमा कार्यरत डा. सन्तोषकुमार गुप्ता र डा. नवीनचन्द्र भट्ट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. मिसन्ता शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशमा कार्यरत डा. सुयोग्य वाग्लेलाई डडेल्धुरा अस्पताल फिर्ता गरिएको छ ।

पहुँचका आधारमा वीर अस्पतालमा कार्यरत डा. सोनिकाधरी श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ल्याब टेक्नोलोजिस्ट संजोक तिमल्सिना, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीमा कार्यरत डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत डा. मुकेश पौडेल र कान्ति बाल अस्पतालमा कार्यरत डा. दीपेश भट्टराईलाई नारायणी अस्पताल फिर्ता पठाइएको छ । उनीहरू आफूहरूको दरबन्दी एक ठाउँमा भए पनि विगतमा भनसुनका आधारमा पायक पर्ने गरी काजमा बसेका थिए ।

पहुँचका आधारमा मन्त्रालय बसेकालाई दोस्रो चरणमा फिर्ता पठाइने 
अझै पनि ठुलो स्वास्थ्य जनशक्ति तथा विशेषज्ञ चिकित्सक नै दरबन्दी भएको अस्पतालमा काम गर्न छाडेर पहुँचका आधारमा मन्त्रालयमा काजमा बसिरहेका छन् । गत १४ कात्तिकमा नयाँ पत्रिका दैनिकमा ‘दरबन्दी अस्पतालमा, डाक्टर मन्त्रालयमा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल मन्त्रालयको प्रवक्ताका रूपमा रहेका डा. प्रकाश बुढाथोकीको दरबन्दी वीर अस्पतालमा छ । उनी दन्तरोग विशेषज्ञ हुन् । उनलाई प्रवक्ताको जिम्मेवारीमा मन्त्रालयमा राखिएको छ । अस्पतालमा दरबन्दी भएर स्वास्थ्य मन्त्रालयमा कार्यरत अर्का डा. सरोज शर्मा हुन् । उनी वीरकै रेडियोग्राफर (११औँ तह) हुन् । उनी झन्डै डेढ वर्षयता काजमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । 

पहुँचकै आधारमा दरबन्दी भएको अस्पताल छाडेर मन्त्रालय पुगेका अर्का विशेषज्ञ चिकित्सक (११औँ तह) हुन् डा. कृष्णप्रसाद पौडेल । उनी कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ हुन् । तर, हाल उनी स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशक छन् । पौडेल त्यसअघि मन्त्रालयमा काजमा थिए भने मन्त्रालयमै उनी बोर्डमा निमित्तका रूपमा पुगेका हुन् । 

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै पालामा उनीलगायतलाई दरबन्दी भएकै ठाउँमा जान भने पनि अटेरी गर्दै आइरहेका छन् । अब भने नयाँ स्वास्थ्यमन्त्री मेहताले पनि फिर्ता पठाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो । ‘सुरुमा उपत्यकाबाहिरका चिकित्सकहरूको काज फिर्ता भयो, अब नितान्त पहुँचका आधार मन्त्रालयमा बसेका डाक्टरहरूलाई फिर्ता पठाइन्छ,’ स्वास्थ्यमन्त्री मेहताको सचिवालयका एक सदस्यले भने । झन्डै चार वर्षदेखि काजमा बसिरहेका डा. पौडेललाई माथिल्लो पहुँचका कारण काज फिर्ता पठाउन नसकेको यसअघिका स्वास्थ्यमन्त्री पौडेलले समेत बताएका थिए । 

यसअघि काजमा कार्यरत डा. अनुप बाँस्तोला भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै फर्किएका छन् । नरदेवी अस्पतालका डा. पुष्पराज पौडेल (१०औँ तह) पनि दरबन्दीमा नबसी काजमा मन्त्रालयमै छन् । वीरमा दरबन्दी रहेकी स्टाफ नर्स श्रेया सुवेदीसमेत डेढ वर्षदेखि मन्त्रालयमै कार्यरत छिन् । 

सुझावित समाचार