निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु : द्रुतगतिमा सार्वजनिक खरिद ऐन संशोधन गर्न व्यवसायीको आग्रह

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारणसभा एवं १३औँ अधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबारदेखि सुरु भएको साधारणसभा तथा चुनाव आगामी बिहीबारसम्म हुनेछ । अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिँदै छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको शासकीय सुधारका १०० सूची स्वागतयोग्य भएको बताए । यसले निजी क्षेत्र उत्साहित भएको उनको भनाइ छ ।

सार्वजनिक खरिद ऐन एक महिनाभित्र संशोधन गर्ने सरकारी घोषणा स्वागतयोग्य भएको उनले बताए । निजी क्षेत्रको चाहनाअनुसार उक्त ऐन संशोधन गरिनुपर्ने उनको भनाइ छ । कालोसूचीमा राख्ने वर्तमान व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको पनि उनले बताए ।

यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार आयोजनाको निर्माण द्रुत गतिमा हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिनुपर्ने बताए ।  ‘सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारी घोषणा स्वागतयोग्य छ,’ उनले भने, ‘ठेक्का तोडिएपछि बाँकी कामको लागत साबिककै निर्माण कम्पनीबाट असुल्ने व्यवस्था हटाउनुपर्छ ।’

यस्तै, उनले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने बताए । निर्माणकार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पुर्याएर समाधान खोजिने उनको भनाइ छ ।

नयाँ नेतृत्वका लागि पाण्डे र लामा प्रतिस्पर्धामा
यो अधिवेशनबाट महासंघले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाउनेछन् । नयाँ नेतृत्वका लागि बुधबार मनोनयन दर्ता र बिहीबार मतदान गर्ने काक्रम छ ।

नयाँ कार्यसमितिका लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । अध्यक्षमा निकोलस पाण्डे प्यानलसहित प्रतिस्पर्धामा छन् । अघिल्लोपटकको चुनावमा पनि अध्यक्षमा पराजित भएका पाण्डे यसपालि पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धीरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतमले उम्मेदवारी दर्ता गर्दै छन् । 

यस्तै, हालका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामाले पनि प्यानलसहित अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिँदै छन् । यस्तै, प्रमोद लामिछानेले स्वतन्त्र रूपमा नीतिगत उपमहासचिवमा उम्मेदवारी दिँदै छन् । यसैगरी, सदस्य पदमा विभिन्न निर्माण व्यवसायी प्रतिस्पर्धामा छन् ।

सुझावित समाचार