मंगलबार नेप्से परिसूचक ०.६९ प्रतिशतले उकालो लागेको छ। नेप्से १९.७९ अंकले बढेर दुई हजार ८५१.०९ विन्दुमा कायम भएको हो।
आज ३३९ कम्पनीका दुई करोड ७९ लाख ४२ हजार कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा किनबेच भएको छ। सोमबार बजार ४७ अंकले घट्दा साढे १२ अर्बभन्दा बढीको सेयर किनबेच भएको थियो।
मंगलबार म्युचल फन्ड र अन्य समूहको सूचक एक प्रतिशतभन्दा थोरैले घट्दा बाँकी ११ समूहको सूचक वृद्धि भएको छ। सबैभन्दा धेरै बढेका वित्त, होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको वृद्धि एक प्रतिशतभन्दा धेरै छ।
बजार उकालो लाग्दा आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो, रिद्गे लाइन इनर्जी र होटेल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा सप्तकोशी विकास बैंकका लगानीकर्ता छन्। यो कम्पनीको मूल्य करिब नौ प्रतिशतले गिरावट आएको छ। त्यसैगरी, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड र एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले पनि क्रमशः ५.७१ र ४ प्रतिशतले गुमाएका छन्।