यस वर्ष उदयपुरमा साढे पाँच हजारभन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उदयपुर जिल्लामा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । यही चैत १९ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा शिक्षा विकास तथा समन्वय इकाइका अनुसार कुल पाँच हजार ६९३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्रमुख भवानीप्रसाद कट्टेलले साढे पाँच हजार परीक्षार्थीका लागि जिल्लाभर २२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएका छन् । ती केन्द्रहरूमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ, जसले परीक्षा व्यवस्थापनलाई थप जिम्मेवार र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

साथै, प्रत्येक केन्द्रमा सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी तथा सुरक्षाकर्मीको समेत उचित व्यवस्थापन गरिएको जनाइएको छ । परीक्षाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेर पूरा भइसकेको छ भने परीक्षा सञ्चालनलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक सबै प्रबन्ध मिलाइएको उनको भनाइ छ ।

यस वर्ष उदयपुर जिल्लाबाट कुल पाँच हजार ६९३ जना विद्यार्थीमध्ये पाँच हजार चार सयजना नियमिततर्फका परीक्षार्थी रहेका छन् भने २९३ जना आंशिक (ग्रेडवृद्धि) परीक्षार्थी रहेका छन् ।  त्यसैगरी, प्राविधिक धारतर्फ यस वर्ष १८० जना विद्यार्थी छन् । प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षणका कारण पछिल्ला वर्षहरूमा यस धारमा सहभागी हुने विद्यार्थीको संख्या क्रमशः वृद्धि हुँदै गएको बताइएको छ ।

विद्यालयगत विवरणअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी परीक्षार्थी त्रियुगा नमुना मावि, गाईघाटबाट रहेका छन् । उक्त विद्यालयबाट प्राविधिक धारबाहेक १९६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । त्यस्तै, संस्थागत विद्यालयतर्फ प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलबाट १०२ जना विद्यार्थी सहभागी हुने भएका छन्, जुन संस्थागत विद्यालयमध्ये सबैभन्दा बढी संख्या हो ।

सबैभन्दा कम परीक्षार्थी भएका विद्यालयहरूमा न्युटन एकेडेमी र न्यु मोडेल रहेका छन्, जहाँबाट चार–चारजना मात्र विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । परीक्षालाई व्यवस्थित बनाउन प्रत्येक परीक्षा केन्द्रमा आवश्यक भौतिक सामग्री, प्रश्नपत्र सुरक्षित ढुवानी तथा भण्डारणको व्यवस्था, उत्तरपुस्तिका वितरण तथा स‌ंकलनको प्रणालीलाई समेत कडाइका साथ लागू गरिएको छ । साथै, परीक्षा अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायसँग समन्वय गरी विशेष सुरक्षा योजना तयार गरिएको शिक्षा समन्वय इकाइले जनाएको छ ।

सुझावित समाचार