विषादीको प्रयोगमा ध्यान नदिँदा स्वास्थ्यमा बढी असर, विषादी प्रयोग गरेपछि समयसीमा ख्याल गर्न अनुरोध

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

नेपालमा विषादीको प्रयोग अन्य देशको तुलनामा निकै कम गरिए तापनि त्यसको प्रयोग विधिमा ध्यान नदिँदा स्वास्थ्यमा बढी असर गर्ने गरेको विज्ञहरुले बताएका छन् । आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको विषादी न्यूनीकरणसम्बन्धी समन्वयात्मक बैठकमा सहभागीहरुले यस्तो बताएका हुन् । 

हाल बजारमा बिक्रीको लागि ल्याइने तरकारी र फलफूलमा विषादी भेटिनुको मुख्य कारण विषादी बिक्री-वितरण गर्ने एग्रोभेट, किसान र यसको बिक्री-वितरण गर्नेहरूको असावधानीको कारण रहेको उनीहरूको भनाइ छ ।

हाल नेपालमा विषादीको निकै कम ०.३९ प्रतिशत प्रयोग हुन्छ । विकसित देश जापानमा समेत १६ प्रतिशत विषादीको प्रयोग गर्दा त्यहाँका मानिसमा यसको असर नदेखिए पनि नेपालमा भने प्रयोग र प्रयोग गरेपछिको अवधिलाई ख्याल नगर्दा बढी विषादीको असर जनस्वास्थ्यमा परेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

उनका अनुसार किसान, विषादीको बिक्री वितरण गर्ने एग्रोभेट, तरकारी र फलफूल बिक्री र उपभोक्ताहरूले ध्यान दिने हो भने भान्सामा विषादी पुग्दैन । त्यसको लागि किसानले विषादी पयोग गरेको कम्तीमा एक सातासम्म तरकारी वा फलफूल नटिप्ने, एग्रोभेटहरूले विषादी बेच्दा सम्झाइबुझाई गर्नुपर्ने, बिक्रेताहरुले किसाबबाट तरिकारी लिँदा सोधेर विषादीको अवस्था बुझेर मात्रै लिने र उपभोक्ताले तरिकारी तथा फलफूल किनेपछि राम्रोसँग धोइपखाली गरेपछि मात्रै विषादी नष्ट गर्ने अभियान सफल हुनेछ । ‘अरु देशमा भन्दा नेपालमा अति कम विषादी प्रयोग हुन्छ, तर यहाँ किसान आत्तिएर छिटो बजार बठाउन खोज्छन्, आजै विषादी छर्र्छिएको छ भने आजै टिपेर पनि बजारमा पठाउने गरिन्छ,’ डा. गेलालले भने, ‘यसले गर्दा नागरिकको स्वास्थ्यमा असर परिरहेको छ, किसानहरुले यस्तो कुरा बुझ्नुपर्छ, तर कतिपयले विषादीलाई औषधीको रुपमा लिनुहुन्छ, यो राम्रो होइन, उपभोक्ताले पनि तरकारी र फलफूल किनेपछि राम्ररी धोएर प्रयोग गर्नुपर्छ, नुनपानी, कागतीपानीलगायतको प्रयोगले विषादी कम हुन्छ ।’ उनका अनुसार विषादीको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ ।

विषादी अत्याधिक प्रयोग गरिएका ठाउँहरुमा किसानलाई नै क्यान्सरजस्ता जटिल रोगहरु देखिन थालेका छन् । पछिल्लो समय क्यान्सर, थाइराइड, फोक्सो, मुटुलगायत जलिट रोगको मुख्य कारण विषादीको जथाभावी प्रयोग भएकोले सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
जिल्ला कृषि कार्यालय तथा ज्ञान केन्द्रका वाली कार्यक्रम अधिकृत रितिक्षा पौडेलले नेपालमा विषादीको प्रयोग गर्दा निकै असावधानी अपनाउने गरिएको बताए । ‘विषादी विष हो, यसका पनि कैयौं प्रकारहरु छन्, तर किसानले यसलाई औषधी भनेर प्रयाग गर्नुहुन्छ, तर यो औषधी होइन, विष हो, नेपालमा बालीनालीमा आवश्यकता भन्दा बढी विषादीको प्रयोग भइरहेको छ,’ उनले भनिन्, ‘विश्वममा सन् १९५० मा मलेरिया हटाउन विषादीको प्रयोग भएपनि पछि कृषि कार्यमा यसको ज्यादै बढी प्रयोग हुनथाल्यो, जसले मानव स्वास्थ्यमा नै असर पारिरहेको छ ।’  उनका अनुसार नेपालमा सबैभन्दा बढी काठमाडौं उपत्यका आसपासमा खेतीयोग्य ठाउँमा प्रयोग हुने गरेको छ भने उपत्यकाबाहिर तराईका जिल्लामा बढी प्रयोग हुने गरेको छ । 

हाल नेपालमा सरकारले २५ प्रकारका निकै घातक विषादी प्रतिबन्ध लगाएको छ । तर त्यस्ता विषादी पनि कतिपयले लुकीछिपी ल्याएर बिक्रि वितरण समेत गर्ने गरेका छन् । नेपालमा विषादी विक्रि वितरण गर्ने एग्रोहरुको संख्या १६ हजार १२० रहेका छन् भने यहाँ ३२० वटा कम्पनीहरुले विषादी सप्लाई गर्छन् । केहि समयअघि अखलेजगञ्जमा प्रतिबन्धित विषादी भेटिएपछि प्रहरीले बराबर गरेको थियो । तर उक्त विषादी नष्ट भने गरिएको छैन ।

हाल नेपालमा तरकारी र फलफूलको विषादी मापन गर्न ल्याबको व्यवस्था सहज नहुँदा विषादी परीक्षण निकै कम हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय ललितपुरका प्रमुख तेजप्रसाद दबाडीले तरकारी र फलफूलमा विषादी देखिएको विषयमा बढी हल्ला चलाउँदा त्यसको असर किसानलाई परेको बताउँदै त्यसबारे सचेत हुनुपर्ने बताए। 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले विषादी प्रयोग गरिएको तरकारीले स्वास्थ्यमा हानी गर्ने भएकोले किसानले विषादी प्रयोग गरेपछि पखिर्नुपर्ने समयको पालना गर्नुपर्ने बताइन्।

See More On

सुझावित समाचार