पर्यटकीय क्षेत्रहरु पोखरा, लुम्बिनी र चितवनलाई जोडेर ‘सिल्भर ट्रयांगल’को रुपमा विकास गरी एकीकृत पर्यटकीय गतिविधि अगाडि बढाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
होटल संघ पोखरा नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहकार्यमा आइतबार पोखरामा लुम्बिनी प्रदेशका संचारकर्मीसँग गरिएको अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन्।
कार्यक्रममा तीन शहरलाई जोडेर पर्यटकीय गतिविधि अगाडि बढाउन सके आउने पर्यटकको बसाईँ लम्बिने र यसबाट समग्र देशले नै आर्थिक फाइदा लिने बताइएको छ।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले विगतमा पोखरा, काठमाडौं र चितवनलाई समेटेर ‘गोल्डेन ट्रयांगल’को विषय उठ्ने गरेकोमा अब पोखरा, लुम्बिनी र चितवनलाई जोडेर सिल्भर ट्रयांगलको रुपमा विकास गर्न सकिने बताए। पोखरालाई पर्यटनको राजधानी शहरको रुपमा घोषणा गरिसकिएकाले पोखरालाई मुख्य केन्द्रको रुपमा विकास गरी लुम्बिनी र चितवनलाई जोडेर पर्यटकीय कृयाकलाप गर्न सकिने उनको भनाइ थियो।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ वर्ष २०८३ को अवसर पारी २९ चैतदेखि १ बैशाखसम्म संघले संचालन गर्न लागेको २१औं संस्करणको फेवा नव वर्ष महोत्सवको प्रचारप्रसारका लागि पूर्वी नेपालका मुख्य व्यापारिक शहरहरुमा ‘जाउँ है पोखरा’ अभियान संचालन गरेको र सोही सन्दर्भमा पश्चिम नेपाललाई समेत जोड्ने गरी कार्यक्रम आयोजना गरेको बताए। विगतमा पश्चिम नेपालमा समेत यस्तो अभियान संचालन गरेको भन्दै उनले अब आउँदा दिनमा तीन शहरका व्यवसायी र सरोकारवालाहरुबिच सहकार्य बढाउन ध्यान दिनुपर्नेमा जोड दिए।
गौतम बुद्धको जन्मस्थलक लुम्बिनी विश्वप्रसिद्ध रहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले पोखराका पर्यटकीय सम्पदाका बारेमा समेत चर्चा गरेका थिए। लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले संचारकर्मीले यस क्षेत्रको प्रवर्द्धनसँगै प्रचारका लागि कुनै कसर बाँकी नराख्ने बताए।
संघका उपाध्यक्ष दिपक श्रेष्ठले संघले आयोजना गर्ने महोत्सवमा आउने पाहुनालाई संघअन्तर्गतका होटलले आवासमा २५ प्रतिशत छुट प्रदान गर्ने जानकारी दिए।