गेरुवा बहुमुखी क्याम्पसको भवनको शिलान्यास

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

बर्दियाको गेरुवा गाउँपालिकामा रहेको गेरुवा बहुमुखी क्याम्पसको भवनको शिलान्यास गरिएको छ । गेरुवा गाउँपालिका– ३, बालुवाटारको मैदानमा गेरुवा बहुमुखी क्याम्पसक १४ कोठे भवनको शिलान्यास गरिएको हो ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले एक औपचारिक कार्यक्रमबिचमा क्याम्पसको भवनको शिलान्यास गरेका हुन् । पालिका बन्न लागेको क्याम्पसको भवन निर्माणको काम चाँडै नै सकिएर विद्यार्थीहरूले छिटोभन्दा छिटो यहीँबाट उच्च शिक्षा लिने बताए । उनले भने, ‘अहिले बन्न लागेको क्याम्पसको भवन निर्माणको कामका लागि बजेट अभाव हुनेछैन । तर, निर्माण कम्पनी छिटोछरितो काम  गर्नुहोला ।’

क्याम्पसको भवन शिलान्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्ष जमानसिंह केसीले पालिकामा क्याम्पस खुलेसँगै यहाँ स्थानीयहरूलाई सहज भएको बताए । उनले भने, ‘पालिकाले क्याम्पस उच्च शिक्षा अध्ययनको केन्द्र बनाउन पालिकाको सहयोग हमेसा रहनेछ ।’ 

त्यसैगरी पालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले विगतको दिनमा गेरुवाका विद्यार्थी गुलरिया, नेपालगन्जलगायत ठाउँमा जानुपर्ने बाध्यता थियो, अहिले  गेरुवामा क्याम्पस खुलेपछि त्यो समस्याको अन्त्य भएको बताइन् । 

लुम्बिनी प्रदेश सरकारको दुई करोड ९२ लाख ६३ हजार ९३७ रुपैयाँ लागतमा  क्याम्पसको भवनको बन्न लागेको छ ।
क्याम्पसको भवनको जिम्मा पाएको  सुभश्री कन्स्ट्रक्सन कम्पनी प्रालि वनस्थलीले भवन निर्माणको काम ०८२ असार मसान्तसम्म सक्नुपर्नेछ । निर्माण कम्पनीले क्याम्पसको जग र हवाई ढलान गर्नुपर्नेछ ।

क्याम्पस प्रमुख दिलबहादुर जिसीले अहिले पढाइ भइरहेको स्थानमा कक्षाकोठाको अभाव भएको हुँदा क्याम्पसको भवन बनेपछि प्रशासनिक काम र पठनपाठनका लागि सहज हुने बताए ।

सुझावित समाचार