नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पक्राउ गर्नु प्रतिशोधपूर्ण कार्य भएको भन्दै एमाले धनकुटाले विरोध जनाएको छ।
एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बूद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर प्रतिशोधपूर्ण कार्य गर्नु मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न काम भएको जनाएको छ।
भदौ २३ र २४ गतेको घटनालाई योजनाबद्ध र संगठित रूपमा हाइज्याक गरी सरकार र संसद् विघटन गरी गैरसंवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा अहिलेको सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार र आक्रमण गर्न सुरु गरेको एमालेले आरोप लगाएको छ।
पार्टीका अध्यक्षलगायतलाई पक्राउ गर्नु सिंगो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमाथिको नांगो प्रहार र दमन सुरु गरेको जनाएको छ। उक्त कार्यको घोर भर्त्सना र निन्दा गर्दै पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न र प्रतिशोधपूर्ण कार्य अविलम्ब बन्द गर्न एमाले धनकुटाले जोडदार माग गरेको छ। साथै, प्रतिशोधपूर्ण दमन र नांगाे हस्तक्षेपको विरुद्ध आन्दोलनमा उत्रन पार्टीसम्बद्ध सम्पूर्ण पार्टीपंक्ति, समर्थक, शुभेच्छुकहरूलाई आह्वान गरेको छ।
