काठमाडौंस्थित बौद्ध, पीपलबोटनजिकै टिनले बेरेको टिनैले छाएको टुङ्ना, डम्फु बनाउने एउटा कारखाना छ । मुख्य सडकबाट एक मिटर दक्षिणतिर हिँड्दा कारखानाको गेटैमा पुगिन्छ । थोरै खुला ठाउँ हुँदै कारखानातिर पाइला चाल्दा एकजना वयस्क कि डम्फु कस्दै गरेको भेटिन्छन्, कि टुंगनामा तार मिलाउँदै गरेको देखिन्छन् । छेउछाउमा असरल्ल टुङ्ना र डम्फु बनाउने सामान देखिन्छन् । डम्फुमाथि नाच्ने काठको चराछेउमा चुपचाप बसिरहेको पनि देख्न सकिन्छ । दुई दशकदेखि डम्फु र टुंङ्ना बनाइरहेका उनी हुन् दोलखाका कलाकार धावा वाङ्गेल मोक्तान ।
तामाङ समुदायको महत्वपूर्ण बाजा हो, टुङ्ना र डम्फु । तारवाद्य बाजा टुङ्नाको माथिल्लो भागमा गरुडको आकृति हुन्छ । तलतिर छालाले ढाकिएको गोलो भाग हुन्छ । यो सृष्टिको उत्पत्तिसँगै यो बाजाको पनि उत्पत्ति भएको भनाइ छ । टुङ्नाका बारेमा तामाङ समुदायभित्र विभिन्न खालका मिथ छन् । सृष्टिको उत्पत्तिसँगै यो बाजाको पनि उत्पत्ति भएको भनाइ छ । त्यसले यो बाजा हजारौँ वर्षअघि नै निर्माण भएको भन्न सकिने कलाकार मोक्तान बताउँछन् । उनी तामाङ जातिको महत्वपूर्ण सामाजिक नायक ताम्बा पनि हुन् । ताम्बा तामाङ इतिहासकार हुन् । उनको पुस्तक ‘तम्बाला कइरन–२०७५’ प्रकाशित छ । उनका अनुसार टुङ्ना बाजा देवीदेवतासँग सम्बन्धित छ । यो देवीको बाजा हो ।
त्यसैगरी, यो बाजाबारे अर्को पनि मिथ छ । ‘तामाङहरूको सृष्टि भएपछि जीविकोपार्जनका लागि कोही लेकतिर भेडाबाख्रा पालेर बस्न थाले । ती गोठालाले एक्लोपनलाई भुलाउन टुङ्नाको सिर्जना गरेको भन्ने पनि प्रचलन छ, ‘उनी भन्छन्, ‘ती गोठालाहरू जीवनको अन्तिम समयमा थातथलो फर्किंदा आफ्नो आफन्तलाई आफू चिनाउनसमेत टुङ्नाले मद्दत गरेको थियो ।’
१२ महिनामा विभिन्न सिजनअनुसार तामाङहरूले पर्वहरू मनाउँछन् । ती महिनामा धर्म के हो ? संस्कृति के हो ? यो धर्मले के भन्छ ? हिजोको जीवन के थियो ? भोलि के हुन्छ भन्ने कुरा टुङ्ना बजाएर गीतबाट सुनाउने प्रचलन भएको मोक्तानको भनाइ छ । टुङ्ना चाँप, कपुर, सिसौको काठबाट निर्माण गरिन्छ । यसमा प्रयोग हुने बुट्टा भने तामाङको जीवन पद्धतिसँग मेल खाने आकृति राखेर बनाइने उनको भनाइ छ ।
डम्फु ताल वाद्ययन्त्र हो । तामाङ समुदायको पहिचानसँग जोडिएको यो बाजा कोइराला वा धुपीको काठबाट बनाइन्छ । गोलो काठको फ्रेममा एकातिर मात्रै छाला तानिएको हुन्छ । डम्फुमा ३२ वटा बाँसको किला गाडिएको हुन्छ । डम्फुको गोलाकार भागलाई घाम र जुनको प्रतिबिम्ब मानिन्छ । ३२ किलाको अर्थ ३२ देवी देवताको प्रतीकका रूपमा पनि मानिन्छ । तामाङ समुदायको बिहे, छेवर, शुभकार्यमा यो बाजा ताम्बाले बजाउँछन् ।
धावावाङ्गेलका म्हेमे (हजुरबुबा) पनि कलाकार नै थिए । हजुरबुबा बुद्धको मूर्ति बनाउन, डम्फु बनाउन, टुङ्ना बनाउन ल्हासा गएको धावा सम्झिन्छन् । त्यसपछि भुटान गए । हजुरबुबाबाट त्यो कला उनको बुबाले सिके । धावा वाङ्गेलको बाल्यकाल टुङ्नाको धुन सुनेर सुरु भयो । त्यसैले होला त्यो धुनले उनलाई मोहित बनायो । उनले बुबाबाट डम्फु र टुङ्ना बजाउने कला सिके, त्यसपछि बनाउन पनि सिके । पाँच कक्षा पढ्दा नै पहिलोपटक टुङ्ना बनाएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘बनाउन सिकेपछि स्कुलमा हुने प्रतियोगितामा टुङ्ना बजाएँ ।’
त्यसपछि धावा वाङ्गेलको ध्यान पढाइभन्दा टुङ्ना, डम्फु बजाउनेतिर गयो । पढाइलाई असर नपरोस् भनेर उनका काकाले ‘राम्रो पढ्नू, टुङ्ना बनाएर दिन्छु,’ भनेका थिए, तर दिएनन् । त्यसैले, टुङ्ना बनाउने र बजाउने दुवै काम उनले गर्न थाले । उनले सुरुमै बनाएको टुङ्ना तीन वर्ष बजाए । टुङ्ना लिएर उनी जिरीको प्राविधिक विद्यालयमा पढ्न गए । त्यहीँ पढ्ने क्रममा उनको त्यो टुङ्ना ट्रेकिङका लागि आएका एकजना जापानीले १५ सयमा किनेर लगे ।
केही समय त्यहाँ पढेपछि उनी काठमाडौं आएर पढ्दै काम गर्न थाले । मिहिनेतअनुसारको आम्दानी पनि हुन थाल्यो । उनले २०४७ वैशाखमा रेडियो नेपालमा मातृभाषामा गीत गाउन पाइन्छ भन्ने सुने । त्यो अवसर भाषाभाषी सम्मेलनले जुराएको थियो । रेडियो नेपालको कार्यक्रममा उनले टुङ्ना बजाउँदै गीत गाउने अवसर पाए । आइसिंह लामाले बाँसुरी र रामबहादुर जिम्बाले हार्मोनियम बजाएर उनलाई साथ दिएका थिए । त्यही वेला रेडियो नेपालमा भेटिएका लोकगायक प्रेमराजा महतले उनीसँग टुङ्ना मागे । तर, उनले विभिन्न बहाना बनाएर टुङ्ना दिएनन् ।
रेडियो नेपालको त्यो भाषाभाषी सम्मेलन सकिएपछि लोकगीत परीक्षणको अर्को सुचना आयो । त्यो वेला पनि उनी त्यही टुङ्ना लिएर गए । त्यसपटक केही पैसा दिएर महतले टुङ्ना लिएर गए । त्यो टुङ्ना महतले पछि लोकबाजा संग्रहालयलाई दिएछन् । त्यो टुङ्नालाई थकालीको बाजा नाम दिएर राखेको उनले देखे । ‘आफूले बनाएको, बजाएको टुङ्ना चिनिहालिन्छ । त्यहाँ सोध्दा प्रेमराजा सरले दिनुभएको भन्नुभयो । यो तामाङको टुङ्ना हो । थकालीको होइन भनेँ,’ उनी भन्छन् ।
धावा वाङ्गेलले टुङ्ना र डम्फु बजाउन, बनाउन थालेको चार दशक बितिसकेको छ । अहिलेसम्म उनको गुजारा टुङ्ना र डम्फु बनाएरै चलेको छ । उनले एउटा टुङ्नाको मूल्य ७० हजारसम्म लिएका छन् । उनले हालसम्म करिब सात सय टुङ्ना बनाइसकेका छन् । करिब २५ सय डम्फु निर्माण गरिसकेका उनले एउटा डम्फुको दुई हजारदेखि ५५ सयसम्म लिन्छन् । हाल उनको कारखानामा दुईजनाले रोजगारीसमेत पाएका छन् । तैपनि, मागअनुसारको टुङ्ना र डम्फु निर्माण गर्न सकेका छैनन् ।
‘टुङ्ना, डम्फु मागअनुसार बनाउन सकिरहेको छैन । बनाउने सामान जुटाउन मुस्किल छ । काठ खोज्दै कहिले काभ्रे, मकवानपुर, रामेछापतिर जानुपर्छ । काठ ल्याउँदा वन कार्यालयसँग प्रक्रिया पूरा गर्नुपर्छ ।’
उनका अनुसार नयाँ पुस्तासमेत यो परम्परागत पेसामा आकर्षित भइरहेका छन् । टुङ्ना बजाउने तालिमसमेत प्रदान गरिरहेका उनले यसलाई नै मध्यनजर गरेर टुङ्ना बनाउने तालिमसमेत दिने भएका छन् । उनी भन्छन्, ‘बनाउन सिकाइदिनुपर्यो भनेर पनि धेरैजना आउँछन् । त्यसैले, आउने वैशाखदेखि बनाउने तालिम दिने सोचमा छु ।’