पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा गए राती भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
दाउन्ने सडक खण्डको बर्दघाट नगरपालिका-४ घ्यु खोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशातिर जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५ख २२७५ को पिकपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर रोल्पाको बाघमाराका २५ वर्षीय गोविन बुढा र नाम थर नखुलेका २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी वीरदत्त पन्त जानकारी दिए । मृतककाे शव अहिले पृथ्वीचन्द्र अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा घाइते भएबम मध्य ११ जनाको अवस्था गम्भीर रहेकोे छ । गम्भीर घाइतेलाई उपचारका लागि लुम्बिनी सिटि अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।
उद्दारको क्रममा प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्य पनि चिफ्लिएर लड्दा घाइते भएका छन् । उनको पनि बुटवलमा उपचार भएको प्रहरीले जनाएको छ। काठमाडौबाट छुटेको यात्रुबाहक बस रोल्पा जाँदै थियो।