नयाँ प्रधानमन्त्रीको शपथको तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्की शुक्रबारै बिदा हुँदै छिन् । २४ फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छोडेकी कार्कीले शुक्रबारदेखि सरकारी निवास बालुवाटार पनि छोड्न लागेकी हुन् । पूर्वप्रधानन्यायाधीश कार्की जेन–जी आन्दोलनपछि २७ भदौ राति प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले नवनियुक्त प्रधानमन्त्रीको शपथमा सहभागी भएर प्रधानमन्त्री कार्की उतैबाट आफ्नो निवासतर्फ प्रस्थान गर्ने बताए । ‘अहिले बालुवाटारमै हुनुहुन्छ । बालुवाटारबाट शपथमा जानुहुन्छ । शपथ सकिएपछि उतैबाट घर जानुहुन्छ,’ उनले भने । रावलका अनुसार प्रधानमन्त्री कार्कीले प्रयोग गर्दै आएका सामानहरू सारिसकिएको छ । नयाँ प्रधानमन्त्रीको टिमले वास्तुअनुसार आवश्यक हेरफेर गरिरहेको छ ।
१२:३४ बजे शपथ : प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि लिने
दिउँसो १२:३४ बजे बालेनलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराउने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने उनले बताए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि शपथको तयारी भइरहेको बताए । ‘राष्ट्रपति कार्यालयको प्रांगणमा शपथ हुन्छ, सबै तयारी भइरहेको छ,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीका नाम टुंग्याउन सभापति लामिछाने र वरिष्ठ नेता बालेनबिच छलफल भइरहेको उनले बताए । विज्ञता, समावेशिता, भूगोल मिलाएर मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ ।
२:१५ बजे सिंहदरबारमा पदबहाली : प्रधानमन्त्री कार्यालयले केही मन्त्रालयसँग माग्यो सुधारका पाँच–पाँच एजेन्डा
शपथपछि बालेनले २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको पदभार ग्रहणका लागि तयारी भइसकेको मुख्यसचिव सुमनराज अर्यालले जानकारी दिए । पदबहालीपछि प्रधानमन्त्रीको निर्देशनअनुसार काम हुने पनि उनले बताए । भोलि नै मन्त्रिपरिषद् बैठक बस्ने सम्भावनाको विषय पनि प्रधानमन्त्रीको निर्देशनअनुसारै हुने मुख्यसचिव अर्यालको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन भएपछि त्यहाँबाट निर्णय गर्ने गरी केही मन्त्रालयहरूसँग सुधारका कम्तीमा पाँच–पाँचवटा एजेन्डा मागेको छ । ती एजेन्डा तत्तत् मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । तिनलाई पनि प्रधानमन्त्री कार्यालयले समेटेर नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।
मुख्यसचिव सुमनराज अर्यालले प्रधानमन्त्रीका लागि कार्यालयका तर्फबाट आवश्यक तयारी र व्यवस्थापन भइसकेको बताए । उनका अनुसार प्रधानमन्त्रीका लागि कार्यकक्ष र मन्त्रिपरिषद् बैठक बस्ने पूर्वाधारको प्रबन्ध गरिएको छ । मन्त्रिपरिषद् बैठकका लागि भने सम्भावित आकार हेरेर विकल्पसहित हलको व्यवस्थापन गरिएको छ । बिहीबार दिउँसो बालेनको तर्फबाट एक टोली प्रधानमन्त्री कार्यालय हेर्नसमेत गएको थियो । कार्यालयमा बालेनका लागि वास्तुअनुसार सामान्य आसन परिवर्तन गरिएको छ ।