ग्लोबल आइएमई बैंकले पौभा कलाको दिव्य रङ र दर्शनसहितका तस्बिर समावेश गरी नयाँ वर्ष ०८३ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति रहेको थियो ।
पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेन्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवा: समुदायसँग गहिरो सम्बन्ध रहिआएको पौभा कलाका दुर्लभ चित्रहरू समावेश गरिएको छ । बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका आफ्नो क्यालेन्डरमा मौलिक चित्र समावेश गर्ने गरेको छ ।
बैंकले ०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, ०८० मा मण्डला चित्रकला, ०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति र ०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश गरी क्यालेन्डर प्रकाशन गरेको थियो ।
बैंकले देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ७९ एटिएम, एक सय ४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।