कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताह २०२६ का अवसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीमा वित्तीय ज्ञान तथा सिप विकास गर्ने उद्देश्यसहित देशभरै कार्यक्रम सञ्चालन गरिएको थियो । साथै, सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्री पनि प्रसारण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार सातै प्रदेशका विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना भएको छ, जसबाट एक हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ । विद्यार्थीलक्षित कार्यक्रममा सानो–सानो बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो ।
यसका साथै हाल बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले ओटिपीसम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्री प्रसारण गरिएको छ । यसले विभिन्न समुदायसम्म वित्तीय सुरक्षासम्बन्धी सन्देश प्रभावकारी रूपमा पुर्याउन सहयोग पुर्याएको बैंकको भनाइ छ ।
त्यसैगरी, सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपत्कालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोबार गर्दा हुने गल्ती तथा अनलाइन ठगीबाट कसरी बच्न सकिन्छ भन्नेबारे पनि सचेत गराएको छ ।