बेल्जियमको इयू टी–२० लिगमा आठ नेपाली क्रिकेटर

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

नेपालका आठ खेलाडी बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा आबद्ध भएका छन् । नेपालको लिगबाहेक धेरै नेपाली क्रिकेटर खेल्न लागेको यो पहिलो विदेशी लिग हो । बेल्जियमको राजधानी बसेल्समा भएको ड्राफ्टबाट ६ जना खेलाडीलाई आबद्ध गरिको छ । यसअघि दुई खेलाडी पहिले नै छनोट भइसकेका थिए ।  यसअघि सन् २०२४ को ग्लोबल टी–२० लिगमा नेपालका दुई खेलाडी एकै टोलीमा रहेका थिए । सो लिगमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एकै टोलीमा रहेका थिए ।

बेल्जियम लिगमा सुरुमै आबद्ध हुने सन्दीप लामिछाने हुन् । उनलाई लियज रेड लायन्सले अनुबन्ध गरेको थियो । यस टोलीमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस पनि छन् । सन्दीपपछि टी–२० आईका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजले आबद्ध गरेको थियो । ड्राफ्टमा कप्तान रोहितकुमार पौडेललाई ग्लेन्ट ग्लाडियटर्सले भित्र्याएको थियो । 

नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई आन्थ्रोप एंकर्सले किन्यो । जेबीले थप सर्वाधिक चार नेपाली खेलाडी ड्राफ्टबाट अनुबन्ध गरेको छ । जेबीमा अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे छन् । यसअघि ड्राफ्टमा २२ जना खेलाडीले नाम दर्ता गराएका थिए । जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्टस्को स्वामित्वमा छ ।

नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्टस्ले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ । शिवनारायण चन्द्रपाउल मुख्य प्रशिक्षक रहेको टोली ब्रुजेजले ड्राफ्टबाट ललित, ईशान, अनिल र गुल्सनलाई अनुबन्ध गरेको हो । सन्दीप अनुबन्ध भएको लायन्समा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हर्सेल गिब्स मुख्य प्रशिक्षक हुन् । यस टोलीले ड्राफ्टअघि क्रिस लिन, कोरी एन्डरसन र सोएब मलिकलाई अनुबन्ध गरेको थियो । इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज लिग हो । बेल्जियम क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्टस् एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी ६–१४ जुनसम्म हुनेछ ।

करण जापानिज  प्रिमियर लिगमा आबद्ध
नेपाली राष्ट्रिय टोलीका करण केसीले जापानिज प्रिमियर लिग टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन् । जापानको जेपिएल प्रतियोगिता मेमा गोल्डेन विकमा तीन दिनसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रत्येक टोलीले एक–एक खेल खेल्नेछन् । शीर्ष दुई टोलीबिच फाइनल हुनेछ । जापानको उच्चस्तरको घरेलु टी–२० प्रतियोगिता जेपिएलमा पूर्व, पश्चिम, दक्षिण र उत्तर कान्टो तथा कान्साई क्षेत्रका प्रतिनिधि टोली सहभागी हुन्छन् । प्रतियोगिता मेमा पर्ने ‘गोल्डेन विक’का अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । शीर्ष दुई टोलीबिच फाइनल हुनेछ ।

सुझावित समाचार