ओली, लेखक र खापुङलाई ज्यानमुद्दामा कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस : कसुर ठहर भए १० वर्षसम्म जेल

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण
  •  ओलीसहितका नेतृत्वलाई आयोगले दोषी ठहर्याएका मुख्य आधार
  • घण्टौँसम्म लाइभ फाइरिङ हुँदा पनि रोक्ने प्रयास नगरी मौन बसेको 
  • अन्तिममा आवश्यकताभन्दाबढी बल प्रयोग भएको
  • १७ जना संसद्परिसरबाहिर मारिएको घटना थाहा भएन भनेर दायित्वबाट पन्छिन नमिल्ने

जेन–जी आन्दोलनका घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई मुलुकी अपराध संहिताअनुसार फौजदारी कसुर (ज्यानमुद्दा)मा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । ९०७ पृष्ठको प्रतिवेदनमा ओली, लेखक र खापुङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (१) र १८२ अनुसार तहकिकात र अभियोजन गर्न भनिएको छ । 
‘तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) र दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान तहकिकात र अभियोजन गर्न–गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरियो,’ प्रतिवेदनमा उल्लेख छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ मा ‘कसैले पनि लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने’ व्यवस्था छ । कसुर गर्नेलाई तीन वर्षदेखि १० वर्ष कैद सजाय र तीन हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गरेको थिएन । बुधबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो । त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । 

आन्दोलनका क्रममा ओली, लेखक र खापुङले घण्टौँसम्म गोली चल्दा पनि रोक्ने प्रयास नगरी मौन बसेको आयोगको निष्कर्ष छ । अन्तिम बल प्रयोग गर्नुपर्दा अनुपातिक र आवश्यकताको सिद्धान्तलाई राम्ररी पालना नगरेको पनि संकलित प्रमाणबाट देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘घण्टौँसम्म लाइभ फाइरिङ हुँदा रोक्ने प्रयास नगरी मौन बसेको हुँदा अन्तिम बल प्रयोग गर्नुपर्दा अनुपातिक र आवश्यकताको सिद्धान्तलाई राम्ररी पालना नगरेको आयोगबाट संकलित प्रमाणबाट देखिन्छ । १७ जना संसद्परिसरबाहिर मारिएकामा आफूलाई घटनाहरूका सम्बन्धमा थाहा नभएको भनी दायित्वबाट पन्छिन खोज्नु सिद्धान्ततः मिल्ने देखिएन । संविधानले ग्यारेन्टी गरेको सर्वसाधारण जनताको जिउज्यानको सुरक्षा, शान्तिपूर्ण निःशस्त्र भेला–प्रदर्शनहरू गर्न पाउने अधिकारको मर्यादा, मान्यता र राज्यबाट संरक्षण हुने विश्वासमा निस्किएका शान्तिपूर्ण जुलुसहरूमा समेत आवश्यकभन्दा बढी बलको प्रयोग भएको देखिन आएको छ,’ प्रतिवेदनमा छ ।

त्यस्तै, आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविलाल रिजालले आन्दोलनका क्रममा उचित सतर्कता नअपनाएको निष्कर्षसहित उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताको दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ । उक्त दफामा ‘कसैले हेलचेक्य्राइँपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । कसुर गरे ‘कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना’ हुने भनिएको छ । 

प्रतिवेदनमा उल्लेख छ, ‘संसद्परिसर क्षेत्रमा घटेका घटना सम्बन्धमा राजनीतिक पदाधिकारीहरू, सुरक्षासँग सम्बन्धित प्रशासनिक पदाधिकारीहरू र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख, मातहतका अधिकृत र प्रहरी जवानहरूसमेतको सो घटनामा कामकारबाही र अपनाउनुपर्ने उचित सतर्कतालगायतका त्रुटि, बेवास्ता, कमी–कमजोरीहरू, व्यक्ति–व्यक्तिको क्रियाकलाप र भूमिकाको सम्बन्धमा माथि नै विवेचना गरिसकिएको छ ।’नेपाल प्रहरीका बहालवाला आइजिपी दानबहादुर कार्कीलाई पनि आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । तत्कालीन आइजिपी खापुङसँगै बसेर आदेश दिएका कारण उनलाई प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ को नियम १०९ अनुसार कारबाही गर्न भनिएको छ । उक्त नियममा कसुरदारलाई नसिहत लिनेदेखि बढुवा रोक्कासम्म कारबाही हुने व्यवस्था छ ।

त्यस्तै, नेपाल प्रहरीका एआइजी सिद्धिविक्रम शाह तथा डिआइजीद्वय ओमबहादुर राना र विश्व अधिकारी, सशस्त्रका एआइजी नारायणदत्त पौडेल र डिआइजी सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका सहनिर्देशक कृष्णप्रसाद खनाल, विभागका तत्कालीन काठमाडौं प्रमुख रिवेनकुमार गच्छदार, एसएसपी दीपशमशेर जबरा र एसपी ऋषिराम कँडेलविरुद्ध पनि कानुनअनुसार कारबाहीका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको हकमा प्रहरी ऐन, २०१२ को दफा ९ को उपदफा (४) तथा प्रहरी नियमावली, २०७१ को नियम १०९ र सशस्त्रको हकमा सशस्त्र प्रहरी ऐन, २०५८ र सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११२ अनुसार कारबाही गर्न भनिएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरका हकमा नेपाल विशेष सेवा ऐन, २०४२ र नेपाल विशेष सेवा नियमावली, २०४४ को नियम १०.२ अनुसार कारबाही गर्न भनिएको छ । 

सैनिक अधिकारीलाई पनि कारबाही सिफारिस 
आयोगले नेपाली सेनाका अधिकारीलाई पनि कारबाही सिफारिस गरेको छ । आन्दोलनका समयमा राष्ट्रपति भवन शीतलनिवासका सुरक्षा कमान्डर सहायकरथी मनोज बैदवार, प्रधानमन्त्रीनिवास बालुवाटारका सुरक्षा कमान्डर प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयका सुरक्षा कमान्डर प्रमुख सेनानी गणेश खड्का र संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवनपरिसर बानेश्वरको कमान्डर सेनानी सन्तोष ढुंगेललाई कारबाहीका लागि सिफारिस गरेको हो । प्रतिवेदनअनुसार उनीहरूलाई सैनिक ऐन, २०६३ को दफा १०५ अनुसार कारबाही गर्न भनिएको छ । 

दुवाडी, अर्याल, थापा र रिजालविरुद्ध पनि फौजदारी अभियोगमै कारबाही सिफारिस
आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविलाल रिजालले आन्दोलनका क्रममा उचित सतर्कता नअपनाएको निष्कर्षसहित उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताको दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ । उक्त दफामा ‘कसैले हेलचेक्य्राइँपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । कसुर गरे ‘कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना’ हुने भनिएको छ । 

आन्दोलन हिंसात्मक बनाउन डिस्कर्ड प्रयोग
जेन–जी आन्दोलन हिंसात्मक बन्नुमा सामाजिक सञ्जाल डिस्कर्डले महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष आयोगको छ । आन्दोलनका तयारीदेखि भिड भड्काउने, आगजनी गर्ने, पेट्रोल बम बनाउन सिकाउनेसम्मका गतिविधि डिस्कर्डमा भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । डिस्कर्डमा पेट्रोल बम (मोलोटोभ ककटेल) प्रसंग ३५६ पटक उठाइएको छ । डिस्कर्डमा उक्त बम बनाउने तरिका २३ भदौको अपराह्नदेखि सिकाउन सुरु भएको प्रतिवेदनमा उल्लेख छ । 

‘बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने बम, जसको चर्चा डिस्कर्डमा ३५६ पटक भएको थियो । डिस्कर्ड संवादमा सोडियम मेटल र नेपाल्म बनाउने सूत्रहरू आदान–प्रदान भएको पाइएको छ । संसद् भवन र अन्य संरचनाहरूमा निकै छोटो समयमा आगो फैलिनुले सोडियम वा म्याग्नेसियमजस्ता प्रज्ज्वलनशील रसायनको प्रयोग भएको हुन सक्ने संकेत गर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यही दिन अपराह्नदेखि डिस्कर्डमा मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गर्ने योजनाहरू बन्न थाले ।’

डिस्कर्डमार्फत निशाना बनाउनुपर्ने ठाउँको बारेमा समेत बताइएको थियो । जसअनुसार उनीहरूले शीर्ष नेताहरूको घरमा आगजनी र तोडफोड गर्न भनेको उल्लेख छ । संसद् भवनदेखि सर्वोच्च अदालत, मन्त्रीक्वार्टर, प्रहरी कार्यालय, भाटभटेनी, हिल्टन होटेललगायतमा पनि डिस्कर्डमार्फत दिइएको निर्देशनपछि नै क्षति पुर्याइएको उल्लेख छ । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिनसहित आक्रमणको प्रयास भएकोमा सेनाले विफल पारेको प्रतिवेदनमा उल्लेख छ ।आयोगको प्रतिवेदनअनुसार भिडलाई उत्तेजित बनाउन भ्रामक सूचनासमेत डिस्कर्डमा फैल्याइएका थिए । आन्दोलनका क्रममा होस्टेलमा बलात्कार भएको, मृतकको संख्या बढाइचढाइ गरिएकोजस्ता मिथ्या सूचना फैलाएर भिडलाई उत्तेजित पारिएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तो थियो संवाद 
रुकेश : मोलोटोभ आपूर्ति गर । जति सकिन्छ मोलोटोभ बनाऊ । 
सगत जी : म मोलोटोभ लिएर आउँदै छु ।
किजी गो : आफ्नोतर्फबाट मोलोटोभ फाल
कुशेल : संसद् भवनलाई मोलोटोभले निशाना बनाऊ ।
एनोनिमश : प्रहरीतर्फ आगो फाल... नेताहरूको घर घेर्नु (१५ पटकसम्म)
अबो : हामीलाई ग्रिनेड र मोलोटोभ चाहिन्छ ।
ग्रिनिश : भारत/केरलाबाट ग्रिनेड आयात गर्ने 
टोनी : ग्लोबल कलेज जलाइयो 
क्रिस : रासायनिक हतियार/सोडियमसम्बन्धी छलफल
टक्सिक : मोलोटोभ फाल्दै छु... सहयोग चाहियो (प्रचण्डको निवास जलेको छ)
रिचार्के : शेरको घर जलिरहेको छ
एप्पल : शेर... भत्कियो

२३ र २४ भदौमा  विभिन्न आन्दोलनस्थलमा १,७४,४२० मोबाइल एक्टिभेट 
आयोगको प्रतिवेदनअनुसार आन्दोलनका दिन मुलुकका विभिन्न आन्दोलनस्थलमा एक लाख ७४ हजार ४२० मोबाइल फोन एक्टिभेट भएको देखाएको छ । प्रतिवेदनअनुसार सबैभन्दा धेरै नयाँ बानेश्वरस्थित संसद् भवनआसपास २२ हजार ४९६ फोन एक्टिभेट भएका थिए । त्यस्तै, काठमाडौं जिल्ला अदालतआसपास एक हजार १०७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगआसपास दुई हजार २७६, नेपाल प्रहरी प्रधान कार्यालयआसपास पाँच हजार २६९, सिंहदरबारआसपास दुई हजार ६९२ फोन एक्टिभेट भएका थिए । 

आयोगले अनुसन्धानका क्रममा मुलुकभरबाट एक हजार ३६९ सिसिटिभी फुटेज, एक हजार ७३६ सोसियल मिडिया फुटेज, तीन हजार ५३१ क्लिप्स र दुई हजार ८७५ स्क्रिनसट अनुसन्धान गरेको थियो । 

कहाँ कति फोन एक्टिभेट ?
स्थान    सक्रिय फोन 
काठमाडौं जिल्ला अदालत    १,१०७
संसद् भवन    २२,४९६
अख्तियार टंगाल    २,२७६
नेप्रप्र कार्यालय     ५,२६९
सिंहदरबार     २,६९२
सर्वोच्च अदालत     १,४१७
नक्खु कारागार     ५,३६०
राष्ट्रपति कार्यालय     २,६४४
केपी ओली निवास    २,६७४
शेरबहादुर देउवा निवास    २,१८९
पुष्पकमल दाहाल निवास    ७१२
गगन थापा निवास    ३,०२३
कान्तिपुर पब्लिकेसन     २,१७९
हिल्टन होटेल    ३,२३५
एनसेल लैनचौर    २,२०८
भाटभटेनी टंगाल    २,१९२
उपेन्द्र महतो निवास    १,५३०
शेखर गोल्छा निवास    १,०९४
विनोद चौधरी निवास    २,५९४
कास्की जिल्लाअन्तर्गत     २२,५०३
बाँके जिल्लाअन्तर्गत    १५,२१८
चितवन जिल्लाअन्तर्गत    १३,५९३
झापा जिल्लाअन्तर्गत    ८,९०७
कैलाली जिल्लाअन्तर्गत    २,८६०
सुनसरी जिल्लाअन्तर्गत     ४,८०३
रूपन्देही जिल्लाअन्तर्गत    ११,६८४
कञ्चनपुर जिल्लाअन्तर्गत    ४,६८६
मोरङ जिल्लाअन्तर्गत    १४,३००
पर्सा जिल्लाअन्तर्गत     ३,४६४
मकवानपुर जिल्लाअन्तर्गत     ४,७५२
सुर्खेत जिल्लाअन्तर्गत     ७५९
जम्मा    १,७४,४२०
 

सुझावित समाचार