श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

श्रीमतीको हत्या आरोपमा मोरङ प्रहरीले  विराटनगरबाट एकजनालाई  पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– १५, हडताली  हाटका श्रीमान् रोशन साहलाई  मंगलबार राति पक्राउ गरेको हो । विराटनगर– १७ स्थित छाला फ्याक्ट्री पश्चिमको कल्भर्टमुनि मंगलबार साँझ तन्नामा  पोको पारेर फ्याँकेको सडिसकेको महिलाको शव फेला परेको थियो ।

शव बरामद गरेर सनाखत गरेर प्रारम्भिक अनुसन्धान गर्न इलाका प्रहरी रानीले  श्रीमान् रोशनलाई पक्राउ गरेको हो ।मोरङ प्रहरी प्रवक्त्ता डिएसपी लीलाराज लामिछानेका अनुसार  श्रीमती कोमलकुमारी हराएको भन्दै ८ चैतमा श्रीमान् रोशनले इलाका प्रहरी रानीमा खोजी गरिदिन निवेदन दिएका थिए । तर, प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती कोमल ६ चैतदेखि हराइरहेको र शव बेरेको तन्ना पनि घरकै भएको खुलेपछि प्रहरीले थप अनुसन्धानका लागि श्रीमान् रोशनलाई मंगलबार राति नै पक्राउ गरेको थियो । 

श्रीमान् रोशन आफैँले श्रीमतीको  हत्या गरेर अपराध लुकाउन तन्नामा बेरेर घरदेखि चार किलोमिटर दक्षिणपूर्वमा पर्ने नेपाल–भारत सीमाक्षेत्रमा पर्ने कल्भर्टमुनिको फोहोर पानीमा लगेर फ्याँकेको र हराएको बहाना बनाउँदै खोजी गरिदिन प्रहरीमा निवेदन दिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । डिएसपी लामिछानेले भने, श्रीमानले हत्या गरेको बलिया आधारहरू छन्, ‘तर हामी प्रमाणका लागि  गहन अनुसन्धान गर्दै छौँ ।’ 

१० चैत साँझ सीमाक्षेत्रमा पर्ने विराटनगर– १७ स्थित छाला उद्योगको नजिकैको  कल्भर्टमुनिको  फोहोर पानीभित्र तन्नाले बेरिएको शव देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि इलाका प्रहरी रानीको टोलीले मंगलबार साँझ शव निकालेर सनाखत गराएर अनुसन्धान थालेको थियो। छिमेकीहरूका अनुसार रोशनकी पत्नी कोमलकुमारी ६ चैतदेखि हराइरहेकी थिइन्। हत्याको कारण र अन्यको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार